चितवन च्याम्पियनसिप जेठ २४ देखि

Posted by

जेठ २१ , भरतपुर ।एभरेष्ट क्लब भरतपुर ११ को आयोजनामा पाँचौं चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका अध्यक्ष अशोक देवकोटाले जानकारी दिनुभयो । नक आउट प्रणालीमा हुने प्रतियोगिताका सम्पूर्ण खेल जुनियर प्रहरी अधिकृत तालिम केन्द्रको खेल मैदानमा खेलिनेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई क्रमशः नगद रु. ३ लाख, एक लाख पचास हजार र पचास हजार तथा मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने जनाइएको छ । प्रतियोगिताको अन्त्यमा विधागत रूपले उत्कृष्ट पाँच खेलाडीलाई रु ६० हजार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगितामा सहभागी सबै टिमलाई प्रतिखेल नगद रु ५ हजारका दरले यातायात खर्चको समेत व्यवस्था गरिएको जनाएको छ । जेठ २४ देखि असार ७ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल भने भरतपुर फुटबल क्लब र डिफेन्डिङ च्याम्पियन फोर ब्रदर्श गैंडाकोटबीच हुनेछ । आयोजक एभरेष्ट क्लबका अनुसार प्रतियोगिताको पूर्वसन्ध्यामा जेठ २२ गते भेट्रान खेलाडी र युवा नेताबीच तथा जेठ २३ गते पत्रकार र जनप्रतिनिधिबीच मैत्रीपूर्ण खेल पनि हुनेछ ।