चितवन राष्ट्रिय निकुञ्जमा शंकरप्रसाद नामको ४५ बर्षिय हात्तीको मृत्यु

Posted by

२५ माघ, चितवन
चितवन राष्ट्रिय निकुञ्जको लामिचौर पोष्टमा कार्यरत संखर प्रसाद नामक हात्तीको मृत्यु भएको छ । माघ २१ गते बिरामी परेर उपचार थालिएको ४५ बर्षिय सो हात्तीको माघ २२ गते मृत्यु भएको हो । हिन्दु धर्म अनुसार हात्तीलाई भगवान गणेशको प्रतीक मानिने भएकोले धार्मिक परम्परा अनुसार मृत हात्तीको पूजापाठ गरेर अन्त्येष्टि गरिएको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ५ वटा घरपालुवा हात्तीको मृत्यु भएको छ ।यसैगरी निकुञ्जको मुख्य इलाका बगाइ माडी सेक्टर अन्तर्गत घाँघरमा सडेगलेको अवस्थामा अन्दाजी ४० बर्षको गैंडा मृत फेला परेको छ । निकुञ्जले दिएको जानकारी अनुसार माघ १३ गते गैंडा मृत भेटिएको हो । गैंडा प्राकृतिक कारण मरेको अनुमान गरीएको अधिकारीले बताउनुभयो । चालु आर्थिक बर्षमा मात्रै २३ वटा गैंडा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएको छ । यसै बर्ष चोरी शिकारीले समेत गैंडा मारेका छन् ।