चितवन राष्ट्रिय निकुञ्ज प्रमुख फेरिए

Posted by

चितवन साउन १५, बिहिबार। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख फेरिएका छन् । यस अघिका चिफ वार्डेन (प्रमुख) नारायण रुपाखेती साउन १४ गते बुधबार विभाग तानिएका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले रुपाखेतीको ठाउँमा प्रमुख भई अणनाथ बराल आउने जानकारी दिए ।

बराल बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख हुन् । केही वर्ष अघि उनी चितवन निकुञ्जकै सहायक वार्डेन थिए ।

३ दिनको फरकमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा विवादास्पद र अमानवीय घटना भएपछि सरुवा भएका रुपाखेतीको आलोचना भएको थियो । साउन १ गते निकुञ्जको लिगलिगे पोष्टका सेनाको कुटपिटबाट राप्ती २ का २४ वर्षीय राजकुमार चेपाङको उपचारको क्रममा साउन ७ गते निधन भएको आरोप छ । घटनामा अन्य ४ जना युवामाथि कुटपीट भएको थियो ।

त्यस्तै साउन ३ गते माडी स्थित कुसुमखोलामा रहेका चेपाङको २ घरमा निकुञ्जले आगजनी र हात्ती लगाएर भत्काउने काम भएको थियो । यस घटनाको संसदीय समितिमा पनि छलफल भइरहेको छ । जनता, जनप्रतिनिधि, सांसदहरुले विरोध गरेका छन् ।