चितवन राष्ट्रिय निकुन्जमा बाघ दिवस मनाइयो

अपिल घिमिरे, कसरा

चितवन राष्ट्रिय निकुन्जमा बाघ दिवस मनाइएको छ। स्वस्थ वातावारणका लागि बाघ भन्ने नाराका साथ बुधवार निकुञ्जको मुख्य कार्यालयमा बाघ दिवस मनाइएको हो।
कार्यक्रममा मध्यवर्ती व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मधुकर मल्ल ,वटुकदल गण कसराका गणपति अरुण श्रेष्ठ , एन टि एन सी सौराहाका प्रमुख राम कुमार अर्याल लगायतले शुभकामना संदेश दिएका थिए।
सोहि अवसरमा निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले २०७६/२०७७ मा कार्यालय बाट बाघ संरक्षणमा गरिएको कार्य विवरण प्रस्तुत गरेका थिए। डाक्टर बाबुराम लामिछानेले चितवन र पर्सा क्षेत्रमा बाघको अवस्था ,बाघ मानव द्वन्द ,बाघको विचरण,बाघको दिगो संरक्षणका लागि आगामी कदमको विषयमा विचारहरु प्रस्तुत गरेका थिए। गएको साउन ३ गते सनिवार कुशुम्खोलामा भएको घटनाको वारेमा निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले स्पष्ट पारेका थिए। कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष,समुदायमा आधारित चोरि शिकारी नियन्त्रण इकाई प्रतिनिधि ,गुल्मपति र स्थानिय संरक्षणकर्मीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले गरेका थिए। औपचारिक कार्यक्रमलाई सहायक संरक्षण अधिकृत बेद बहादुर खड्काले स्वागत गरेका थिए।
बाघ दिवस सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप आज नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणना अनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुर्‍याउने प्रतिबद्धता गरेको थियो मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए । यस गणनाका क्रममा क्यामेरामा देखिएका बाघका बच्चाको सङ्ख्या नसमेटिएकाले सन् २०२२ मा नेपालको लक्ष्य पूरा हुने निश्चित देखिएको छ।