चितवन सहित देशभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना

Posted by

चितवन,पुस १३-

पश्चिमी वायुको प्रभावका कारण चितवनसहित देशभरीको मौसम बदली भएको छ। मौसम बदलीका कारण बिहानैदेखि चितवन र आसपासका जिल्लामा घाम लागेको छैन। चितवनमा जाडो बढेको छ। हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण दिनप्रतिदिन चिसो बढ्दै गएको हो। मौसम पूर्वानुमान शाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ। यस्तै पहाडि तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

आज प्रदेश १, प्रदेश २, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ। धेरै ठाउँमा हल्कादेखि मध्य वर्षा र उच्च पहाडि तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको संभावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको धेरै स्थानमा हल्का वर्षाको संभावना रहेको जनाइएको छ।

यस्तै आज राती देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरुमा मध्य वर्षाको संभावना रहेको छ। उच्च पहाडी भू-भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि संभावना रहेको छ। आगामी तीन दिनको अवधिमा देशभर धेरैजसो स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने जनाइएको छ। देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।