चितवन–११ लाई टाई–ब्रेकरमा पराजित गर्दै पुलिसले उचाल्यो जेसीज विकास रनिङ शिल्डको उपाधि

Posted by

चितवन, कार्तिक ९–

चितवनको नारायणगढमा भएको टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ । आज (शनिबार) भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाई–ब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट लिइएको हो । टाई–ब्रेकरमा चितवनका दुई खेलाडी गोल गर्न चुकेपछि पुलिसले ४–२ को सहज जित निकालेको हो । चितवनका कप्तान रुमेश बर्तौला र अश्विन पाख्रिनको प्रहार विफल भयो भने सुधांस महतो र अजय गुरुङको प्रहार भने गोल भएको थियो । तर, पुलिसका तर्फबाट पेनाल्टी प्रहार गरेका भरत साह, सुमन लामा, अजित भण्डारी र हरि कठायत सबैले गोल गरे ।

जितसँगै पुलिसले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ र रनिङ शिल्ड पाएको छ । उपविजेता बनेको चितवन–११ ले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार र उपविजेता शिल्ड पाएको छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पुलिसका मिडफिल्डर रवि पासवान बेस्ट प्लेयर बने । उनले २५ हजार नगद पुरस्कार पाए । त्यस्तै उत्कृष्ट गोलरक्षक बनेका पुलिसका सत्रुधन चौधरी, उत्कृष्ट रक्षक बनेका चितवनका सुधांस महतो, उच्च गोलकर्ताद्वय पुलिसका सुमन लामा र चितवन–११ का रुमेश बर्तौला र अनुशासित टिम घोषित जावलाखेल फूटबल क्लबले जनही १५ हजार नगद पुरस्कार पाए ।

फाइनल खेलको म्यान अफ दी म्याच बनेका पुलिसका डिफेण्डर मनबहादुर विश्वकर्माले १० हजार पुरस्कार पाए ।
नारायणगढ जेसीजको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको प्रतियोगितामा कूल १० टिम सहभागी थिए ।