जगतपुरमा डोजर काण्ड, वडाअध्यक्षकै संलग्नतामा गौचरनको बाटो साँघुरो बनाईदै

Posted by

चितवन, जेष्ठ २९ – भरतपुर महानगरपालिका वडा नम्बर २३ जगतपुरमा वडा कार्यालयले डोजर लगाएर साबिकको बाटो साँघुरो बनाउन खोजेको भन्दै स्थानियबासीले बिरोध गरेका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानियले चलनचल्तीकै बाटोलाई स्तर उन्नती गर्नुको सट्टा उल्टै साँघुरो बनाउन खोजेको भन्दै बिरोध गरेका हुन् । उनिहरुले भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारी र वडा नम्वर २३ का वडाअध्यक्ष नरिनारायण पौडेल नै डोजर लगाएर बाटो साँघुरो बनाउने जस्तो बिकास बिरोधी कृयाकलापमा संलग्न भएको आरोप लगाएका छन् ।

वडा कार्यालयले गलत तथा अन्यायपूर्ण काम गर्न खोज्दा त्यसो नगर्न र चलनचल्तीकै बाटोलाई स्तर उन्नती गर्न माग गर्दा वडाध्यक्षद्वय भण्डारी र पौडेलले प्रहरी लगाएर स्थानीय बासिलाई गिरफ्तार गरेको बताईएको छ । ‘वडा कार्यालयले उक्त गलत तथा अन्यायपूर्ण काम गर्न खोज्दा त्यसो नगर्न र स्थानीयको माग बमोजिम चलनचल्तीकै बाटोलाई स्तर उन्नती गर्न माग गरेका स्थानीय बासिन्दामाथि भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाअध्यक्ष अरुणपीडित भण्डारी र वडा नम्वर २३ का वडाअध्यक्ष नरिनारायण पौडेलको प्रत्यक्ष नेतृत्व र निर्देशनमा आज मिति २०७६ जेठ २८ गते मङ्गलबार स्थानीय बासिन्दामाथि प्रहरी लगाएर धरपकड तथा गिरफ्तार गर्ने कार्य भएको छ’ – विज्ञप्तिमा भनिएको छ ।

यस्तै वडाध्यक्षद्वय भण्डारी र पौडेलको निर्देशनमा महिलाहरु माथि दुव्र्यवहार र अपशव्दसमेत प्रयोग भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । वडाध्यक्षद्वय भण्डारी र पौडेलको निर्देशनमा अधिकांश महिला सहित २० जना रहेका थिए । उनिहरुलाई दिनभर इलाका प्रहरी कार्यालय, गीतानगरमा राखेर छोडिएको छ । वडाअध्यक्षद्वय भण्डारी र पौडेलले धम्की दिँदै अहिले चलेको बाटो घटाएरै छोड्ने र कोही बिरोधमा आए प्रहरी लगाएर थुनाउने धम्की दिएको स्थानियको आरोप रहेको छ ।

वडा नम्वर २३ कार्यालयले १०–१२ मिटर चौडाईको उक्त बाटो घटाएर साँघुरो बनाउने निर्णय गरेलगत्तै स्थानीय वासिन्दाले बिरोध जनाउँदा तीन ट्रक प्रहरी बोलाएर स्थानीय वासिन्दालाई गिरफ्तार गरि बाँकी रहेकालाई धम्क्याउँदै लखेटी बाटोमा डोजर लगाएर हिंड्न नमिल्ने बनाएको बताईएको छ ।

महानगरपालिकाका मेयर रेनु दाहालजले चलनचल्तीको बाटो घटाएर विकास विरोधी काम नगर्न र डोजर लिएर तत्काल फिर्ता गर्न निर्देशन दिँदादिँदै पनि भण्डारी र पौडेलले मेयरको निर्देशनकोसमेत अवज्ञा गरि राज्यसंयन्त्रको चरम दुरुपयोग गरेको स्थानियको आरोप रहेको छ । जनप्रतिनिधिले आफ्नो हैसियत बिर्सिएर गुण्डागर्दी र अराजक शैलीमा राज्यसंयन्त्रको चरम दुरुपयोग गर्दै स्थानीय सोझासिधा गाउँलेमाथि गरेको दमनपूर्ण कार्य भएको भन्दै स्थानियले निन्दा गरेका छन् । उनिहरुले बिकास बिरोधी कार्यमा संलग्न सबैलाई कारबाहीको माग गरेका छ्न् ।