साउन १०,जाजरकोट :
जिल्लाको कुशेगाउँपालिका-३ का ५५ वर्षीय तुल्से नेपालीको ब्लड बान्ता गरेर बिहीबार मृत्यु भएको छ। गाउँदेखि स्वास्थ्य संस्था टाढा भएका कारण उपचारको अभावमा उनको मृत्यु भएको हो। कुशे ३ भौता गाउँमा १२ जना भन्दा बढी ब्लड बान्ता गर्ने बिरामी रहेको र केहीको स्वास्थ्य संस्थामा उपचार जारी रहेको स्थानीय दीपेन्द्र शर्माले जानकारी दिए। यता गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले भने मान्छे बिरामी भएको तर के कस्तो बिमार भन्नेबारे आफूले बुझ्दै गरेको बताएका छन्। उनले भने, ‘बिरामी भएको कुरा सुन्नमा आएको छ प्रमाणित भएको छैन, म बुझ्दै छु।’ गाउँमा समयमै उपचार नहुने हो भने अज्ञात रोगले ठूलो रूप लिनसक्ने भन्दै सरोकारवाला निकाय सचेत हुनुपर्नेमा शर्माको जोड छ। यता, जिल्ला प्रशासन कार्यालय जाजरकोटले केही बिरामीहरूको स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको बताएको छ।