झापाबाट राप्रपा महामन्त्री लिङ्देनले भने– कांग्रेससँगको देशभरिको गठबन्धन अब टुट्यो सिटौला झापा ३ बाट उठ्ने भएपछि कांग्रेस-राप्रपा गठबन्धन धरापमा

Posted by

१३ कात्तिक
नेपाली कांग्रेसले झापा क्षेत्र नं. ३ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई उठाउने निर्णय गरेपछि राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले कांग्रेस–राप्रपा गठबन्धन टुटेको घोषणा गरेका छन् । उनले कांग्रेसबाट धोका भएको टिप्पणी गरेका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट झापा ३ मा उम्मेदवार बन्ने भएपछि गाउँमा भोट माग्दै हिँडेका लिङ्देनले गठबन्धन टुटेको प्रतिक्रिया दिए । उनले भने– एउटै गठबन्धनको उम्मेदवार एउटै निर्वाचन क्षेत्रमा दुईजना भएपछि गठबन्धन त सिद्धिइहाल्यो नि ।’
राप्रपा नेता लिङदेनले अब कांग्रेससँगको देशव्यापी गठबन्धन पनि लगभग टुटिसकेको बताए । ‘देशभरिको गठबन्धन पनि करिब–करिब टुटिसक्यो’, उनले भने, ‘अब पूरै टुट्छ ।’
राप्रपा महामन्त्री लिङदेनले कांग्रेससँग गठबन्धन टुटेको बताए पनि पार्टीले औपचारिकरुपमा कांग्रेससँगको गठबन्धन टुटेको औपचारिक घोषणा गरिसकेको छैन । राप्रपा अहिलेको सरकारमा पनि सामेल छ ।
यसअघि कांग्रेसले झापा ३ मा राप्रपाका महामन्त्री लिङ्देनलाई समर्थन गर्दै सिटौलालाई समानुपातिकमा राखेको थियो । तर, सिटौलाले समानुपातिकमा नबस्ने अडान लिएपछि उनलाई फेरि प्रत्यक्षतर्फ नै राख्ने निर्णय भएको हो ।