डाक्टर केसीको समर्थनमा प्रदर्शनमा उत्रिएका दुई दर्जन बढी चिकित्सक पक्राउ

Posted by

साउन १०, काठमाडौं –
डाक्टर गोविन्द केसीको मागलाई सम्बोधन गर्नुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिएका दुई दर्जनभन्दा बढी चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । डा. गोविन्द केसीको माग सम्बोधन गर्दै दबाब दिँदै शिक्षण अस्पताल महाराजगंज अगाडिको सडकमा प्रर्दशनमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बिहीबार सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रधानमन्त्री निवास बालुवाटारतिर अघि बढन खोजेका चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिनुअघि दुई पक्षबीच धकेलाधकेल समेत भएको थियो ।
त्यस अवसरमा चिकित्सकहरुले गोविन्द केसीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्नेलगायतका सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । पक्राउ परेका चिकित्सकलाई नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा राखिएको छ । चिकित्सकहरुले पुलिस क्लबभित्रै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।
चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै डा. केसीले अनसन बसेको बिहीबार २७ औं दिन पुगेको छ । यसबीचमा सरकार उहाँको माग सम्बोधन गर्न गम्भीर नदेखिएको प्रर्दशनमा उत्रिएका चिकित्सकहरुको गम्भीर आरोप छ । प्रर्दशनका क्रममा उनीहरुले सरकार माफियाको चंगुलमा फसेकाले केसीको माग सम्बोधन गर्न तयार नदेखिएको आरोप पनि लगाएको थिए । नेपाल चिकित्सक संघको आह्वानमा वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाको माग गर्दै देशभरका सबै सरकारी अस्पतालमा पनि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । गोविन्द केसीको मागलाई आफूहरुले भनेजसरी सम्बोधन गर्नुपर्ने लगायतको माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सरकारविरुद्ध सडक र सदन दुवैतिरको आन्दोलनलाई तीव्रता दिँदै आएको छ ।