डीडीसीमा डेढ करोड घोटाला, दुग्धजन्य पदार्थ गायब

Posted by

बुधबार, १५ माघ, २०७६ काठमाडौं । कहिले नेतालाई सित्तैमा दूध र दुग्धजन्य पदार्थ वितरण त कहिले दूधमा भ्रष्टाचार गरी अनियमिततामा मुछिरहने दुग्ध विकास संस्थान(डीडीसी) बाट पछिल्लो समयमा डेढ करोड रुपैंयाँको विभिन्न उत्पादन गायब भएको छ ।

पछिल्लोपटक डीडीसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ५२ हजार पाँच सय मूल्यबराबरको अर्धतयारी घिउ, धूलो दुध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको हो ।

डीडीसीको आन्तरिक लेखा परीक्षण विभाग(आलेप) ले भौतिक मौज्दात परीक्षण गरी प्रतिवेदन बुझाएको दुई महिना वितिसक्दा पनि कारवाही गर्नुको साटो पुरस्कृत गरिएको छ ।

डीडीसीले अध्ययन प्रतिवेदन गुपचुप राखेको छ । डीडीसी स्रोतका अनुसार बालाजु आयोजनाबाट ५६ लाख मूल्यको सात हजार किलो अर्धतयारी घिउ(फ्याट) गायब पारिएको छ ।

यस्तै सोही आयोजनाबाट ९४ लाख ८७ हजार पाँच सय मूल्यको १६ हजार पाँचसय किलो धूलो दुध तथा सात लाख ७५ हजार मूल्यको नौ सय किलो तयार घिउ हिनामिना भएको छ । -अन्नपूर्ण पोष्ट दैनिकबाट