देशभर मनसुन सक्रिय, यस्तो छ आजको मौसम

Posted by

सोमवार, असार ८, २०७७-

मनसुनी गतिविधि देशभर नै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।

देशभर नै मनसुनी झरी परिरहेको छ । हाल अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा पानी परिरहेको मौसमविदले जनाएका छन् ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेका पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, सोमबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।

र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना पनि रहेको जनाइएको छ । यस्तै ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।