नारायणगढ–मुग्लिन सडकखण्ड : चौथो पटक समय थप्दा पनि सकिएन काम, फेरि समय थप्न माग

Posted by

चितवन, वैशाख ३१ –
नारायणगढ–मुग्लिन सडकखण्ड निर्माणका लागि चौथो पटक समय थप हुँदा समेत समयमा काम सकिएको छैन । पाँचौ पटक समय थप गर्नका लागि निर्माण कम्पनीहरुले माग गरेका छन् । पछिल्लो पटक थप गरिएको समय अनुसार पहिलो खण्ड आँपटारीदेखि दासढुंगासम्मको सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीको मिति सकिएको छ । चौथो पटकको मिति थप अनुसार पहिलो खण्डको १० मे २०१८ मा मिति सकिएको हो । दोस्रो खण्ड दासढुंगादेखि सिमलतालसम्मको निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले पाएको समय अवधि सकिन ६ दिन बाँकी रहेको छ । यसैगरी तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको कम्पनीको समय सकिन १६ दिन बाँकी रहेको छ ।
१६ दिन समय बाँकी रहेकाले तेस्रो खण्ड सुप्रिम–रौताहा जेभीले मिति थप मागिसकेको छैन । समय सकिनु एक साताअघि थप मिति चाहिएमा माग गर्नुपर्ने हुन्छ । पहिलो खण्डको निर्माणको जिम्मा लिएको बिएलए–श्रेष्ठ जेभीले थप चार सय दिन समय माग गरेको छ । दोस्रो खण्डको निर्माणको जिम्मा लिएको उड हिल–लामा जेभीले थप ४० दिन अर्थात् जुन मसान्तसम्मको समय माग गरेको छ ।
पानी परेको, बन्द भएको, सडक जामका कारण काम गर्न नपाएको, काम थपिएको र पहिले थप मागे अनुरुप समय नपाएकाले मिति थप गर्नुपर्ने कारण देखाउँदै निर्माण कम्पनीले थप समय माग गरेको रेग्मीले बताउनुभयो । अहिले भइरहेको गतिमा काम भएमा आगामी जुन अन्त्यसम्ममा सडक सुरक्षा बाहेकका काम सकिने बताउँदै रेग्मीले सडक सुरक्षाका लागि बढीमा १५ दिन समय लाग्ने उहाँले जानकारी दिनुभयो । चौथो पटकको मिति सम्पन्न भएको भन्दै सम्झौता अनुरुप के कति समय थप पाउने वा नपाउने परामर्शदाता कम्पनीबाट आएपछि मात्र थाहा हुने नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले बताउनुभयो ।
सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको छ ।