नारायणगढ–मुग्लिन सडकखण्डमा धमाधम कालोपत्रे गरिँदै

Posted by

कात्तिक २१,
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा कालोपत्रेको काम तीव्र पारिएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले अहिले यहाँको तीनवटै खण्डमा कालोपत्रेलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। आजसम्मको प्रगति अनुसार १० किलोमिटर क्षेत्रमा पहिलो तहको कालोपत्रे सकिएको र दोस्रो तहको कालोपत्रेको कामसमेत सुरु भएको छ। तीन तहमा कालोपत्रे गरिने उक्त सडकको पहिलो र दोस्रो तह ६/६ सेन्टीमिटर र तेस्रो तह ४ सेन्टिमिटर गरी कुल १६ सेन्टीमिटरको हुनेछ। सडकको ग्राभेलदेखि नै मापन गर्ने हो भने सडकको कुल उचाई भने ६१ सेन्टिमिटरको हुने आयोजनाले जनाएको छ। ३६ किलोमिटरको उक्त सडकखण्डमा ३/४ किलोमिटर बाहेकको क्षेत्रमा अब कालोपत्रे गर्न मिल्ने अवस्था रहेको यादव बताउँछन्। यहाँको सडकमा करिब ७०० मिटर भित्तो काट्नै बाँकी छ भने डेढ सय मिटरमा क्यान्टिलिभर राखिने समेत उनले बताए। ‘अरु क्षेत्रमा पिचका लागि कुनै समस्या छैन,’ यादवले भने, ‘सडक बन्द गरेरै काम गर्न पाएको भए निक्कै छिटो हुन्थ्यो।’ यही कात्तिक १५ बाट दिउँसोमा सडक बन्द गरेर काम गर्ने सूचना जारी गरिएको भए पनि निर्वाचन आउन लागेको भन्दै स्थानीय प्रासनको आग्रहमा बन्द नगरिएको आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर शिवप्रसाद खनाल सडक निर्माणको काममा ५८ दशमल ३६ प्रतिशत सम्पन्न भएको बताउँछन्।