नारायणीमा पानीजहाज चलाउन नदीको गहिराई धमाधम नापिँदै

Posted by

 २३ जेष्ठ २०७६, बिहीबार

जेठ २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाका नदीहरुमा पानीजहाज चलाउने घोषणा गरेसंगै यसको कतिले खिल्ली उडाए त कतिले आलोचना गरे । बिषेश गरी नारायणी नदीमा पानीजहाज चलाउने घोषणाको पनि विभिन्न खाले टिकाटिप्पणीहरु भए । नारायणीमा पानीजहाज चलाउनै नसकिने तर्क भईराख्दा नारायणी नदीमा पानीजहाज सन्चालनका लागि अध्ययन सुरु भएको छ । मंगलबारबाट नारायणी नदीमा जल तथा ऊर्जा आयोगको सचिवालयले पानीजहाज सन्चालनको सम्भाव्यतासम्बन्धी पहिलो चरणको अध्ययन सुरु गरेको हो । त्यसका लागि नदीको गहिराई नाप्ने काम भईरहेको छ । चितवनको दासढुंगादेखि नेपाल-भारत सिमानामा पर्ने गण्डक ब्यारेजसम्म करीब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भईरहेको छ ।

  • जल तथा ऊर्जा आयोगको सचिवालयका अनुसार नदीको गहिराई नापेसंगै आवश्यक तथ्यांक संकलन गरिसकेपछि प्रारम्भिक अध्ययन गर्ने र त्यसको आधारमा अर्को वर्ष विस्तृत अध्ययनको काम अघि बढाईनेछ । नदीको गहिराई नाप्ने काम २ दिनमा १५ किलोमिटर क्षेत्रमा प्रारम्भिक अध्ययन सकिएको बताईएको छ । अहिलेसम्म कममा ३ देखि बढीमा १२ मिटरसम्म गहिरो स्थान फेला परेको अध्ययन टोलीले जनाएको छ । सबै अध्ययन सकिइसकेपछि कुन प्रकारको जहाज चलाउने भन्ने टुंगो लाग्ने छ ।टोलीमा संलग्न परामर्शदाता इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका प्रवन्ध निर्देशक अनुप खनालले भने “ठूलो जहाज चलाउने नै भए ड्याम बाध्नुपर्ने पनि हुन सक्छअहिलेको हाम्रो प्रारम्भिक अध्ययन गहिराइ नाप्ने मात्र हो” । नारायणी नदीको गहिराइ नाप्न डी.जी.पी.एस. प्रणालीमा चल्ने इको साउन्डर र मोटरबोट जस्ता आधुनिक उपकरणको प्रयोग गरिएको छ । नदी नाप लगायतका सम्पुर्ण काम एक महिनाभित्र सम्पन्न गरिने लक्ष्य रहेको छ ।