नालीमा परी गैंडा मरेको घटनाका दोषीलाई कारवाहीको माग

Posted by

रेडियो प्रभाव,माघ ११
राप्ती नदी तटीय क्षेत्र सरसफाई अभियानले भरतपुरको गोन्द्राङमा निर्माणाधिन सडकको नालीमा परेर गैंडा मरेको घटनाका दोषीलाई कारवाहीको माग गरेको छ ।सरसफाई अभियानका संयोजक अपिल घिमिरेले आज एक विज्ञप्ति प्रकाशित गरी लापरवाहीले गैंडाको मृत्यु गराउने निकायलाई तुरुन्तै कारवाहीको माग गर्नुभएको छ । विज्ञप्तिमा वन्यजन्तुको कोरिडोरमा पूर्वाधार निर्माण गर्दा चरम लापरवाही भएको ,पुर्व योजना र सोचको कमिले एउटा निर्दोष प्राणीले ज्यान गुमाउन पुगेकोमा अन्त्यन्त मर्माहत बनेको जनाईएको छ । जिम्मेवार निकायहरु नै वन्यजन्तु संरक्षणमा चुकिरहदा थप पिडा भएको विज्ञप्तिमा उल्लेख गरीएको छ । “काँटी र सिसा जथाभावी फ्याँकीने फोहोरले वन्यजन्तुलाई असर पुर्याउने देखेर हामीहरु निरन्तर वन र तटीय क्षेत्र सरसफाई गरिरहेका छौँ । मानव बस्तीमा पुगेर हामीले वन्यजन्तुको महत्व बुझाएर जनतालाई सहनशील बनाउन सिकाएका छौँ तर जिम्मेवार निकायहरु नै यसरी चुकिरहदा थप पिडा भएको छ ” विज्ञप्तिमा भनिएको छ । विशेषगरी राजमार्ग र सवारी सञ्चालन हुने सडकहरुमा अण्डर पास र ओभर पास छिट्टै निर्माण गर्नुपर्नेमा विज्ञप्ति र्माफत जोड दिईएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ९ स्थित पुर्व पश्चिम राजमार्ग अन्तरगतको गोन्द्राङमा गत आईतबार सडकको नालीमा परेर दुर्लभ एकसिंगे गैंडा मरेको थियो ।