निगमले जापान, चीन र साउदीमा उडान गर्ने

Posted by

काठमाडौं, बिहीबार १२ आषाढ, २०७६ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ ।

आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो ।

निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ ।

यात्रीदेखि कार्गो एजेन्टका लागिसमेत ग्लोबल बोलपत्र आह्वान गरेको हो । जीएसएको टुंगो एक महिनाभित्र लाग्ने निगमले जनाएको छ ।

जीएसए प्रक्रिया पूरा गरी दसैंअघि नै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले राससलाई जानकारी दिए ।

‘साउदी उडानका लागि बोलपत्र आह्वान गरिसकेका छौं । साउदीको सिभिल एभिएसनलाई बोलाएर अडिट गरेपछि आगामी अक्टोबर महिनासम्म उडान सुरु गरिनेछ’–उनले भने ।

साउदीमा विशेषगरी रोजगारीका लागि जाने नेपाली युवालाई लक्षित गरेर उडान गर्न लागिएको छ ।

सकेसम्म दसैंअघि नै रियाद विमानस्थलमा जहाज उडान गर्ने योजनाका साथ आवश्यक कागजी प्रक्रिया पूरा गरिसकेको निगमले जनाएको छ । यो गन्तव्यमा निगमले साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना छ ।

निर्धारित् योजनाअनुरुप निगमले भदौ १२ गते (२९ अगष्ट २०१९) देखि काठमाडौं–ओसाका सीधा नियमित उडान गर्ने तयारी गरेको छ ।

यसअघि, निगमले असार १९ गतेदेखि ओसाका उडान गर्ने योजना बनाएपनि टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकूल रहेको भन्दै उडानतालिका परिवर्तन गरी भदौमा सारेको थियो ।

निगमकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार  उडान गरिने योजना छ ।

यस्तै, निगमले जापानको मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सीधा उडान गर्ने प्रक्रिया अघि बढाएको छ ।

निगमका अध्यक्ष मदन खरेलसहितको टोलीले हालै जापान सिभिल एभिएसनका अधिकारीसँग छलफल गरेको थियो ।

दुईपक्षीय बैठकपछि नारिता उडानका लागि सकारात्मक वातावरण बनेको सहायक प्रवक्ता कोइरालाले बताए । नारिता उडानका लागि छिट्टै कागजात पठाइनेछ ।

नेपाल पर्यटन बोर्डकाअनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटक नेपाल आएका थिए । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

निगमले छिमेकी मुलुक चीनका विभिन्न गन्तव्यमा उडान गर्नका लागि आवश्यक पहल गरिरहेको छ ।

चीनको गोन्जाओ उडानका लागि आवश्यक सबै कागजी प्रक्रिया पूरा भइसकेको निगमका प्रवक्ता कोइरालाले बताए ।

उनले भने–‘चीनको सिभिल एभिएसनले निगमको कागजातको सम्बोधन ‘डकुमेन्ट रेस्पोन्स’ गर्दै थप कागजात मागेकाले त्यो पनि पठाइसकेका छौं । अबको २० दिनभित्र उडान अनुमति पाउँछौं ।’

चीन नेपालका लागि उपयुक्त स्रोतबजार मानिन्छ । चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६३३ पर्यटक आएका थिए ।

‘वाइडबडी ए ३३०’ जहाजबाट लामो गन्तव्यमा उडान भर्ने योजनाअनुरुप निगमले जापान, चीन, साउदीलगायत अन्य गन्तव्य पनि खोजी गर्दैछ । दक्षिण कोरियामा पनि उडानका लागि पहल गरिरहेको जनाएको छ ।

निगमले अहिले भारतको नयाँदिल्ली, बैंग्लोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई ‘न्यारो बडी ए–३२०’ जहाज र एक ‘बोइङ ७५७’ जहाज छन् । (रासस)