नेकपाको पोलिटब्यूरो गठनमा ढिलाइ, सदस्य छान्न नै सकस

Posted by

  •  26, May 2019
  • आइतबार, १२ जेष्ठ, २०७६
news

                                                  फाइल तस्वीर

काठमाडौं, जेठ १२ । तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको एक वर्ष बित्दा पनि पार्टीको महत्वपूर्ण निकाय पोलिटब्युरो गठन हुन सकेको छैन ।

यही जेठ ३ गते नै पोलिटब्यूरो घोषणा गर्ने तयारी भए पनि आन्तरिक विवादका कारण घोषणा हुन सकेन । त्यसयता शीर्ष नेताहरुबीच औपचारिक, अनौपचारिक छलफल भए पनि विवाद टुंग्याउन गर्न नसक्दा पोलिटब्यूरो गठनमा ढिलाइ भएको हो ।

पार्टीभित्रको विवाद व्यवस्थापन नगरी पोलिटब्युरो घोषणा गर्दा आन्तरिक कलह छताछुल्ल हुने भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल पछाडी हटेका हुन् । विवाद कै कारण अध्यक्ष दाहालले पूर्वमाओवादीबाट ६६ जनाको लिष्ट बुझाउन नसक्ने जनाएपछि जेठ ३ गते घोषणा गर्ने भनिएको पोलिटब्युरो घोषणा हुन सकेन ।

नेकपाभित्र ४४१ सदस्यीय केन्द्रीय कमिटीको एक चौथाई अर्थात १४७ सदस्यीय पोलिट्ब्युरो सदस्यमध्ये ८१ पूर्वएमाले र ६६ जना पूर्वमाओवादी केन्द्रबाट ल्याउने सहमति भइसकेको छ । सहमति अनुसार पूर्वएमालेमा साविक ५९ जना बाहेक २२ जना नयाँ सदस्य थप्नुपर्ने हुन्छ । साबिक ५९ सदस्यीय पोलिटब्यूरोमा अध्यक्ष ओली निकट ३३ जना र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा वामदेव गौतम निकट २४ जना छन् । दुई जनाले भने देखिने गरी गुट खुलाएका छैनन् ।

ओली र नेता नेपालबीच बाँकी पोलिटब्यूरो सदस्य थप्न लगातार दुई पटक केन्द्रीय सदस्य भइसकेका वरिष्ठ सदस्य ल्याउने सहमति भए पनि पार्टीभित्र असन्तुष्टि कायमै छ । उक्त मापदण्ड लागू गर्दा प्रदेश कमिटीका कतिपय पदाधिकारी छुट्ने भन्दै पूर्व एमालेभित्र पनि तिब्र लबिङ भइरहेको छ ।

यता, पूर्वमाओवादी केन्द्रमा पोलिटब्युरो सदस्य चयनमा पूर्व एमालेमा भन्दा समस्या छ । झण्डै ४ सयको हाराहारीमा रहेको पूर्वमाओवादीको पोलिटब्यूरोबाट ६६ जना सदस्य छान्न सकस परेको छ ।

सचिवालय सदस्य रामबहादुर थापाले ३० प्रतिशत हिस्सा र नारायणकाजी श्रेष्ठ,वर्षमान पुन तथा जनार्दन शर्माले पनि हिस्सा खोज्न थालेपछि पोलिट्ब्युरो सदस्य चयनमा थप जटिलता उत्पन्न भएको हो ।

यस्तै, एकता प्रक्रियाबाट आएका नेकपा संयुक्तलगायत अन्य घटकका नेताहरुलाई पनि समेट्नुपर्ने बाध्यता पूर्वमाओवादी केन्द्रलाई छ । सदस्य चयनमै समस्या देखिएपछि अध्यक्षद्वय ओली र दाहाल पोलिटब्युरो गठनप्रति नै अनिच्छुक देखिन थालेको स्रोतको दावी छ ।

तर नेता नेपाल पक्षले भने छिटै पोलिटब्युरो गठन गर्न दवाव दिइरहेको छ । सदस्य चयनमै समस्या भएपछि नेकपाभित्र केन्द्रीय सदस्यहरुको कार्यविभाजनपछि मात्रै पोलिटब्युरो गठन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

गत बुधबार अध्यक्षद्वयबीच पार्टी एकताका बाँकी काम टुङ्गो लगाउन लामै छलफल भए पनि टुंगो लाग्न सकेन । अझै पनि पोलिटब्युरो गठन, कार्यविभाजन र विभिन्न विभाग गठन हुन बाँकी छ । यसले पनि एकताका बाँकी काम टुङ्गो लाग्न अझै समय लाग्ने देखिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली बजेट निर्माणमा ब्यस्त रहेकाले जेठ १५ गते बजेट सार्वजनिक भएपछि मात्र पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा छलफल सुरु हुने नेताहरुले बताएका छन् ।