नेकपा निकट दुई युवा संगठनहरुको भरतपुरमा रक्तदान, ८५ जनाले दिए रगत

Posted by

सोमवार, बैशाख १५ चितवन । लकडाउनको समयमा रगत अभाव भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई युवा संगठनहरुले भरतपुरमा रक्तदान कार्यक्रम गरेका छन् । अनेरास्ववियू चितवन र राष्ट्रिय युवा संघ चितवनले सोमबार भरतपुर ११ का दुई स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं. ११ स्थित युनाईटेड टेक्निकल कलेज र कैलाश टोलमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा ८ महिला सहित ८५ जनाले रक्तदान गरेको अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले जानकारी दिनुभयो ।

कोरोना भाईरस (कोभिड १९) का कारण देशभर लकडाउन भएपछि रक्तसञ्चारकेन्द्र भरतपुरमा रगतको अभाव हुँदै आएको छ । रगत अभाव भएपछि कार्यक्रम आयोजना गरी रगत संकलन गरिएको आचार्यले बताउनुभयो । सामाजिक दूरी र पर्याप्त स्वास्थ्य सुरक्षालाई ध्यान दिएर कार्यक्रम गरिएको थियो ।