नेपालभर आजबाट अत्यावश्यकबाहेक सबै सेवा बन्द

Posted by

आइतबार, ९ चैत, २०७६ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को जोखिमका कारण मुलुकभर अत्यावश्यकबाहेक सबै सेवा आज(आइबार)बाट बन्द गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा रहेका सार्वजनिक, सामुदायिक र निजी क्षेत्रले प्रदान गर्ने सेवा चैत २१ गतेसम्मका लागि बन्द गरिएको हो ।

सबै सरकारी कर्मचारी र अत्यावश्यक क्षेत्रमा खटिने निजी क्षेत्रका कर्मचारीहरूले भने नियमित सेवा प्रदान गर्नेछन् ।

बन्द नहुने सेवाहरुमा डाँक, तार वा टेलिफोन,सञ्चार,यातायात, प्रिन्ट वा सरकारी छापा,रक्षा आन्तरिक सुरक्षा, पेट्रोलियम पदार्थको ढुवानी पैठारी, भण्डारण र वितरण, खानेपानी संचालन तथा वितरण, अस्पताल,फोहरमैला संकलन, विद्युत र दैनिक उपभोग्य बस्तुसम्बन्धी सेवा छन् ।

अस्तालहरुमा ओपीडी सेवा भने बन्द नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नेपाल भित्रने सबै अन्तर्राष्ट्रिय उडानहरू पनि आइतबारबाट चैत्र १८ गतेसम्म स्थगित गरिएका छन् ।

सरकारले सबै लामो दूरीका यात्रुवाहक बसलाई भोलिदेखि केही अवधिका लागि रोक लगाएको छ । मानिसहरुको भीडभाड हुने स्थान,सिनेमा घर, शैक्षिक संस्थाहरु भने यसअघि नै बन्द गरिसकिएको छ ।