पर्वतको पाखापानीमा करेण्ट लागेर दुईको मृत्यु १ घाइते

Posted by


पर्वत / पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३० बर्षिय सुरेन्द्र बहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको हो भने स्थानीय युवा भरत क्षेत्री घाइते भएका छन् । 
महाशिला गाउँपालिका ४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो । घटना स्थलमा लुंखु प्रहरी चौकीबाट प्रहरीको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिए । 
महाशिला गाउँपालिकाका प्रबक्ता जीवन उच्चै ठकुरीले दिएको जानकारी अनुसार फलामे पोल गाड्ने क्रममा विद्युत प्रवाह भइरहेको लाइन पोलले छोएपछि उनीहरुलाई करेण्ट लागेको हो । सुरेन्द्र र केशबहादुर क्षेत्रीको घटना स्थलमा नै मृत्यु भएको छ भने घाइते भरत क्षेत्रीलाई उपचारका लागि लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । 
पाखापानी सामुदायिक विद्युत उपभोक्ता समिति मार्फत युवाहरु पोल गाड्ने काममा सक्रिय भएका थिए । महाशिला गाउँपालिकाले पछिल्लो समयमा गाउँपालिकाका सवै काठका पोलहरु हटाएर फलामे पोल युक्त गाउँपालिका बनाउने अभियान सञ्चालन गरेको थियो ।