पार्टीभित्रको अनुशासन विस्तारै खस्कँदै गयो अध्यक्ष: प्रचण्ड

Posted by

शुक्रबार, ६ भदौ, २०७६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ललितपुरमा शुक्रबार आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिस्टको अनुशासनको स्तर गिर्दै गएकामा आश्चर्य व्यक्त गरे ।

कम्युनिस्टमा वैचारिक विचलन आएको उल्लेख गर्दै अध्यक्ष दाहालले पछिल्लो समय सामूहिकताभन्दा पनि व्यक्तिगत निर्णयतर्फ केन्द्रित भएको महसुस भइरहेको टिप्पणी गरे ।

‘हिजो हामी निकै अनुशासित थियौं । आत्मअनुशासनबाटमात्र हामी अहिलेको अवस्थामा आइपुगेका हौं’–उनले भने–‘आज अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो बोल्ने, सामूहिक हितलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’

विगतमा सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारीका साथ कम्युनिस्ट पार्टी चल्दै आएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने–‘आजकल त्यो उल्टिएको छ । व्यक्तिगत निर्णयको जिम्मेवारी सबैले लिनुपर्ने । यो निकै उल्टो भएको छ । यो प्रवृत्तिलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।’

कम्युनिस्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई बिर्संदै जाने प्रवृत्ति देखिएको भन्दै उनले कार्यशैली के हुने हो भन्ने बिर्सेर विस्तारै–विस्तारै बुर्जुवा शैलीतर्फ जान थालेकाप्रति चिन्ता लागेको बताए ।

जनता सार्वभौमसत्तासम्पन्न हुनेगरी यो अवस्थासम्म आइपुग्न वर्गसंघर्षको ठूलो भूमिका रहेको उनको भनाइ थियो ।

सोभियत संघलगायत मुलुकमा कम्युनिस्ट सत्ता ढल्नुको कारण कोट्याउँदै उनले बुर्जवाले कम्युनिस्टसँग लड्न नसक्ने तर सत्तामा गएपछि विकृत बनाउने र एउटा गोली पनि नचलाइ उल्टाइदिने गरेको उदाहरण रहेको बताए ।

उनले विगतमा जनतासँग गरेको प्रतिबद्धता भुल्दै जाने हो भने गणतन्त्र, धर्मनिरपेक्षता, संघीयतालगायत उपलब्धि गुम्नसक्ने खतरा औंल्याए ।

अध्यक्ष दाहालले भने–‘पूर्वी युरोपमा विदेशी हस्तक्षेप भएर वा कसैले सशस्त्र संघर्ष गरेर सत्ता उल्टिएको होइन । कम्युनिस्ट नेताहरु नै राजा, महाराजाजस्तै हुँदै गएपछि जनताले लखेटेका हुन् ।’

उनले माक्र्सवादलाई अक्षरशः पालना गर्नेभन्दा पनि मार्गदर्शन सिद्धान्तकारूपमा लिनुपर्ने बताए ।

‘एउटा प्रवृत्ति माक्र्सवाद, लेनिनवाद, या द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई एउटा धर्मशास्त्रकोरुपमा बुझ्ने र त्यसमा जे लेखेको छ, अक्षरशः पालना गर्नेभन्दा पनि मार्गदर्शन बनाउनुपर्छ’–अध्यक्ष दाहालले भने । रासस