मङ्सिर १४,शनिबार पार्वतीपुर ।
निजी विद्यालयहरुको छाता संगठन प्याब्सन चितवनको पश्चिम क्षेत्र स्कोबले शुक्रबार पश्चिम चितवन स्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगिताको संयोजन पश्चिम चितवनको मङ्गलपुरमा रहेको उषा इङ्गिल बोर्डिङ स्कुलले गरेको थियो ।
प्याब्सन नेपालका केन्द्रीय सदस्य तथा कमलदेवी आवासीय माध्यमिक विद्यालयका प्राचार्य बेलबहादुर गुरुङ प्रमुख अतिथि रहनुभएको प्रतियोगिता पश्चिम प्याब्सनका अध्यक्ष हर्क चापागाईँको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १५का वडा अध्यक्ष शम्भुबहादुर भण्डारी, उषा इङ्ग्लिस आवसीय माध्यमिक विद्यालयका अध्यक्ष शिवप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।
प्रतियोगितामा सहभागी ३३ वटा विद्यालयलाई पछि पार्दै सनलाइट इङ्ग्लिस स्कुल पार्वतीपुरले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी शारदानगरको कमलदेवी आवासीय माध्यमिक विद्यालयले द्वितीय स्थान हासिल गरेको छ भने ब्राइट स्टार आवासीय माध्यमिक विद्यालय पटिहानीले तृतीय स्थान हासिल गरेको छ । यसै गरी सर्वोदय आवासीय माध्यमिक विद्यालय शारदानगरले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।