पार्वतीपुरमा प्रहरी चौकी बनाउन जग्गा प्रदान

Posted by

चितवन, जेठ ११–

भरतपुर महानगरपालिका–२१, पार्वतीपुरमा प्रहरी चौकी निर्माण हुने भएको छ । चौकी निर्माणका लागि भरतपुर महानगरपालिकाले पाँच कठ्ठा जग्गा प्रदान गरेको छ ।

शनिबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा जग्गा आदान–प्रदान गरिएको हो । जग्गा प्रदान सम्झौता पत्रमा भरतपुर महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्धिको यात्रा विकास, सुशासन र सुरक्षामार्फत पूरा गर्न सकिने बताइन् । शान्त र सुरक्षित समाज निर्माण गर्दै अमनचयन कायम राख्नका लागि प्रहरी चौकी स्थापनाका लागि महानगरपालिकाले जग्गा हस्तान्तरण गरेको मेयर दाहालको भनाइ छ ।

मेयर दाहालले प्रहरी विद्यालय संचालनका लागि समेत विगतमा जग्गा प्रदान गरेको बताउँदै महानगरपालिकाको बिकास, सुशासन र महानगरवासीको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सबै प्रकारको सहयोग निरन्तर रहने बताइन् ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भरतपुर महानगरपालिकाले प्रहरी चौकी स्थापनाका लागि ५ कठ्ठा जमिन प्रदान गरेर नेपाल प्रहरीलाई ठूलो सहयोग गरेकोमा धन्यवाद दिए । उनले यस कार्यले यस क्षेत्रको शान्ति सुरक्षा अमनचयन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । तत्कालै सुविधा सम्पन्न प्रहरी चौकी छिट्टै निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गर्दै खनालले प्रहरीलाई गल्ती गर्ने कुनै छुट नरहेको समेत बताए ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा लगायतले मन्तब्य व्यक्त गरेको कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष चित्रसेन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।