पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवस आज

Posted by



२०७६, ७ चैत्र शुक्रबार । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसको आज स्मरण गरिँदैछ । । पाँच पटक प्रधानमन्त्री बन्नुभएको कोइरालाको निधन २०६६ साल चैत ७ गते भएको थियो ।

राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्वपूर्ण कालखण्डमा उहाँको भूमिका महत्वपूर्ण छ ।

कृष्णप्रसाद कोइरालाकी कान्छी पत्नी दिव्या कोइरालाका कान्छा छोरा गिरिजाप्रसादको पूरै जीवन राजनीतिमै बित्यो । नेपाली राजनीतिमा उहाँ नेपाल ट्रेड युनियन काँग्रेसको संस्थापक अध्यक्ष हुनुभयो ।

वि.सं. २०१७ मा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्रको अपहरण भएपछि उहाँले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सयौँ नेतासँग नजरबन्द र त्यसपछि काराबास सजाय भोग्नुभयो ।

उहाँले चार वर्षको काराबकासपछि २१ दिन भोक–हडताल गर्नुभयो र छुटेर उहाँ भारत प्रवासमा जानुभयो । उहाँ २०३२ सालमा भारतको पटनामा भएको काँग्रेसको अधिवेशनमा महामन्त्रीमा निर्वा्चित हुनुभयो ।

उहाँ लामो समयसम्म महामन्त्री र पार्टी सभापति पनि हुनुभयो । २०४६ सालको जनआन्दोलनका बेला उहाँ नै महामन्त्री हुनुहुन्थ्यो र २०४८ को आमनिर्वाचनपछि जननिर्वा्चित प्रधानमन्त्री हुनुभयो । उहाँकै कार्यकालमा नेपालमा खुला अर्थतन्त्रको सुरुवात भयो र नेपालमा निजी क्षेत्रको विकास तीव्ररुपमा अगाडि बढ्यो ।

पटकपटक नेपालको प्रधानमन्त्री हुनुभएका कोइराला आफ्नो भनाइ पूरा गर्ने राजनेताको रुपमा परिचित हुनुहुन्थ्यो । २०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रूपमा प्रस्तुत हुने कोइरालाको छवि ‘कम्युनिस्ट विरोधी’ नेताका रूपमा चित्रित थियो तर झण्डै १६ वर्षको अवधिमा उहाँको राजनीतिक जीवनमा ठूलै परिवर्तन आयो ।

सुरुमा द्वन्द्वरत नेकपा माओवादीलाई निस्तेज पार्न चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिस्टका लागि अनुदार व्यक्तिका रूपमा चित्रित हुनुभयो ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाई उहाँलगायत अन्य संसद्वादी दलका नेतालाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा ‘जनयुद्ध’ लडिरहेको तत्कालीन नेकपा माओवादी पार्टीसँग समेत हातेमालो गर्नुभयो ।

युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि काँग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर कोइरालाको व्यक्तित्वका अगाडि त्यो विरोध गौण बन्यो ।

पहिले वैधानिक राजतन्त्रका समर्थक कोइरालाले नै झण्डै अढाइ सय वर्ष पुरानो राजतन्त्रविरुद्ध आन्दोलनको अगुवाइ गर्नुभयो । लोकतन्त्र स्थापना भइसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रमै रहनुभयो ।

उहाँले १० वर्ष लामो सशस्त्र युद्ध गरेको तत्कालीन नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर नेतृत्व प्रदान गर्नुभयो ।

जनआन्दोलनले उत्कर्ष हासिल गरेपछि २०६३ वैशाख ११ गते प्रतिनिधि सभाको पुनर्बहाली भयो र सात दलका नेताको समर्थनमा कोइराला पुनः प्रधानमन्त्री हुनुभयो ।

कोइरालाकै नेतृत्वमा राजाका सबै अधिकार खोसिए र नेपाली सेनालाई संसद्को नियन्त्रणमा ल्याइयो ।संविधानसभाको निर्वाचन सम्पन्न गरेपछि उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो ।

लोकतन्त्र प्राप्तिपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ को सम्मान पाउनु भएका कोइराला सशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन सफल हुनुभएकाले पनि उहाँको नाम नेपालको राजनीतिक इतिहासमा चर्चित नै छ ।संवैधानिक राजतन्त्रको पक्षमा रहेको काँग्रेस पार्टीलाई उहाँ पार्टी सभापति हुँदा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजान सफल हुनुभयो ।

वि.सं. २०६३ कात्तिक २१ गते कोइराला तथा सात दलका नेताले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सँग मिलेर जनविद्रोहको अन्त्य र संविधानसभाको निर्वाचन गराउने सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

वि.सं. २०६३ मङ्सिर ५ गते सरकारको तर्फबाट प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरी ऐतिहासिक रूपमा ‘हिंसा र अशान्ति’ को राजनीतिलाई विश्राम दिने कार्य भयो ।

पहिलो संविधानसभाको निर्वाचन गराउनुभएका कोइराला नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष हुनुभयो । उहाँ प्रधानमन्त्री हुँदा नै संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लाने निर्णय ग¥यो र राजतन्त्रको अन्त्य भयो ।

विना रक्तपात २४० वर्ष पुरानो शाह राजतन्त्रलाई विस्थापत गर्न सफल हुनुभएकाले कोइरालालाई कतिपय राजनीतिज्ञले ‘क्रान्ति नायक, क्रान्तिकारी योद्धा’ को संज्ञा दिएका छन् । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते शनिबार मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भयो ।