पोखरा प्रिमियर लिग क्रिकेटका लागि मैदान तयार गरिंदै

Posted by

२१ साउन, पोखरा ।
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताका लागि पोखरा रंगशालामा क्रिकेट मैदान मर्मतसम्भार तीव्र बनाइएको छ ।
कात्तिक ९ गतेदेखि २० गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगिताका लागि पोखरा रंगशालाको दक्षिणतर्फ रहेको क्रिकेट मैदान मर्मतसम्भार गर्ने काम भइरहेको हो ।यस क्रिकेट मैदानबाट कुमारी हिमाल माछापुच्छ्रे र अन्नपूर्ण हिमालका हिमश्रृंखला देख्न सकिन्छ । टि-ट्वान्टी फम्र्याटमा हुने प्रतियोगिताका लागि क्रिकेट मैदान निर्माण गर्ने जिम्मा क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले लिएको छ ।यसका लागि क्युरेटर प्रदीपकुमार रावतको नेतृत्वमा एक टोली खटिएको छ । टोलीमा त्रिबि क्रिकेट मैदान निर्माणमा खटिएका क्युरेटरहरु विष्णु मण्डल, मौसम मण्डल र कृष्ण मगर छन् ।सो क्रिकेट मैदानमा ४ वटा क्रिकेट पिच बनाईंदैछ । सेन्टर क्रिकेट पिच (सेन्टर विकेट) बनिसकेको छ । त्यहाँ पिच गरेर माथीबाट माटो हालेर दुबो रोपिएको छ । दुबो अहिले हरियो भएर आइसकेको छ । अब त्यहाँ टप डे्रसिङ गर्न मात्र बाँकी छ ।अन्य ३ वटा क्रिकेट पिचमा पहिलो लेयर कम्पिलिट भइसकेको छ । अहिले दोश्रो लेयरको लागि तनहुँको जामुनेबाट माटो ल्याएर फिलिङ गर्ने काम भइरहेको छ ।दश वर्षअघि जहाँको माटो प्रयोग गरिएको थियो अहिलेपनि त्यहिंबाट ल्याइएको प्रदीपकुमार रावतले बताए । यो माटो क्रिकेट पिचका लागि उपयुक्त भएकाले पुनः त्यहिंबाट ल्याइएको उनको भनाइ छ ।अहिले प्रयोग गरिएको रातो र पहेंलो मिक्स (क्ले) माटो हो । प्रायः टर्निङ विकेटका लागि उपयुक्त मानिने यस्तो माटो भारतको मुम्वईलगायतका राम्रा क्रिकेट मैदानमा पनि प्रयोग गरिएको रावतले बताए । तीन लेयरको बन्ने यी पिचहरु असोज पहिलो हप्ता भित्रमा बनाएर हस्तान्तरण गरिसक्ने क्वीन्स ईभेन्ट म्यानेजमेन्ट प्रालिले योजना बनाएको छ ।