प्रकाशलाई सम्झिँदै प्रचण्डले भने : अभुतपूर्व योगदान दिएर अल्पायुमै गए

Posted by

असार १७, २०७६ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अल्पायुमै निधन भएका छोरा प्रकाश दाहालले योगदान अभुतपुर्व दिएको बताएका छन्।  ३८ औँ जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवम् पिता दाहालले प्रकाशको योगदानलाई स्मरण गरेका हुन्।  उनले ३६ वर्षको छोटो उमेरमै भएको आकस्मिक निधनले परिवार, पार्टी र सिंगो देश स्तब्ध भएको बताए। तर  छोटो समयमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपुर्व रहेको टिप्पणी उनले गरे।  दाहालले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनमा तितामिठा अनुभव बटुलेर पूर्ण जीवनको अनुभव लिएको बताए। कार्यक्रममा खानेपानी मन्त्री बीना मगरले सगरमाथासँग जोडिएका कथा-व्यथा प्रतिष्ठानले खोतलेको बताउँदै पर्वतारोहणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका पात्रलाई सम्मान गर्न ३८ औँ जन्मजयन्ती आयोजना गरिएको बताइन्। बीनाले श्रीमान् प्रकाश दाहालको राजनीतिक योगदान र साहसिक चरित्रको पनि स्मरण गरेकी थिइन्। कार्यक्रममा सगरमाथा आरोहणसँग सम्बन्धित व्यक्तित्वलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो ।  आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।