प्रदेश ३ मा ४५ अर्ब, साँझ सार्वजनिक हुने

Posted by

हेटौडा, असार १ । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि करिब ४५ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछ । बजेट आइतबार साँझ सार्वजनिक गर्ने कार्यक्रम छ ।

बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी पूरा भइसकेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताउनुभयो । मन्त्री ढुङ्गेलका अनुसार बजेटबारे निर्णय गर्न दिउँसो ३ बजे मन्त्री परिषद बैठक बस्ने छ । त्यसपछि बजेट प्रदेशसभामा प्रस्तुत गरिनेछ । चालु आर्थिक वर्षका लागि ल्याएको ३५ अर्बको बजेट सबै खर्च नहुने स्थिति देखिएको छ । तर, आगामी आर्थिक वर्षका लागि ल्याईने बजेट खर्च गर्ने आधारसहित बजेट ल्याउन लागिएको मन्त्री ढुङ्गेलको भनाई छ ।

प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका नागरिकलाई बजेटले छुनेगरी बजेट ल्याउने तयारी भएको उहाँले बताउनुभयो । बजेटमा चालु आर्थिक वर्षका लागि रकम छुट्टिएको तर, कार्यान्वयन हुन नसकेको क्षेत्रमा पनि फेरि रकम थपिने भएकाे छ । जनताका माग, भूगोल, लक्षित क्षेत्र र वर्गीय क्षेत्रलाई आधार मानेर बजेट ल्याउन लागिएको छ ।

बजेटले पूर्बाधार विकासलाई प्राथमिकता दिने भएको छ । प्रदेश गौरवको योजना अन्तर्गत  पोष्टबहादुर बोगटी भिमफेदी– काठमाडौं शुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । पुष्पलाल चक्रपथ प्रदेशका सबै जिल्लालाई समेट्नेगरी निर्माण गर्न लागिएको छ ।

त्यसैगरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई गौरवको योजनाका रुपमा अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको बजेट भन्दा थप परिस्कृत गरेर बजेट तयार पारिएको उहाँले बताउनुभयो । विशेषगरी कृषि, वन र पर्यटन लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।