प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन माग गर्दै चौबीसकोठीमा प्रदर्शन

Posted by

२०७७ साउन १० भरतपुर ।

चितवनका युवाहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै शुक्रबार चितवनको भरतपुरस्थित चौबीसकोठीमा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । श्रीमतीलाई हत्या गरेका पूर्वडिआइजी रञ्जन कोइरालालाई सजाय घटाएर जेलमुक्त गरेको भन्दै बेटर चितवन र साझा युवा संगठनका युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी साहित्यकार सरिता तिवारीले पछिल्लो घटनाले नेपालको न्यायिक क्षेत्रसमेत असुरक्षित बन्दै गएको महसुस गराएको बताइन् । रञ्जन कोइरालाको विषयमा सर्वोच्चले गरेको फैसलाले नेपाली जनतामा न्यायालयप्रतिको विश्वास गुम्ने खतरा बन्दै गएकोले यस विषयमा आन्दोलन गर्न स्वतःस्फूर्त सडकमा आएको उनको भनाइ छ ।
‘संसद् र सरकारले बदमासी गरे पनि न्यायालय त निष्पक्ष छ है भनेर जनताले पत्याउँदै आएका थिए, तर यो घटनाले न्यायालयप्रतिको विश्वास पनि गुम्ने खतरा बढ्दै गयो’, उनले भनिन्, ‘त्यसैले जन्मकैदलाई पनि उल्ट्याएर गलत निर्णय गर्ने अहिलेका प्रधानन्यायाधीशलाई जनस्तरबाटै महाअभियोग लगाउनुपर्छ ।’ श्रीमती गीता ढकालको हत्या गरेका रञ्जन कोइरालाको सजाय घटाउन प्रयोग गरिएको मुलुकी ऐन १८८ अहिले खारेज भैसकेको कानुनी व्यवस्था भएकोले नयाँ कानुनअनुसार फैसला सुनाउनुपर्ने उनले बताइन् ।
बुद्धिजीवी प्रेम रिमाल भने गलत बाटोतर्फ मोडिएको सरकारले न्यायालयलाई पनि गलत दिशातर्फ लैजान उद्यत रहेको बताउँछन् । सर्वोच्चको पछिल्लो फैसलाले आफू सत्तारुढ पार्टीको जिम्मेवार व्यक्ति हुँ भन्न पनि लाज लागेको बताउँदै उनले भने, ‘प्रधानन्यायाधीशले जाँड खाएर सुनाएको फैसला नेपाली जनताका लागि स्वीकार्य छैन ।’ हत्या गरेको प्रमाणित भइसकेको व्यक्तिलाई फाँसीको सजाय हुनुपर्ने ठाउँमा जन्मकैद हुँदा पनि सजाय घटाएर लाजमर्दो काम गरेको उनको आरोप छ ।
साझा युवा संगठन चितवनका संयोजक प्रदीप उप्रेतीले पनि प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने बताए । कानुनी राज्यको उपहास हुने गरी सर्वोच्चले पीडकको पक्षमा लिएको निर्णय कानुनी सर्वोच्चतामाथिको गम्भीर आक्रमण र प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएकोले कानुनी राज्यको प्रत्याभूति दिलाउन विरोध प्रदर्शन गरेको उनको भनाइ छ ।
शुक्रबार दिउँसो करिब एक घन्टा प्रदर्शन गरेका युवाहरुले दण्डहीनता अन्त्य गर, न्याय बिक्रीमा–चोलेन्द्रशमशेर राणा, विधिको शासन लागू गर, अब न्याय खोज्न कहाँ जाने ? न्याय मार्न पाइँदैन, के न्याय मरेकै हो ?, नेपालको कानुन दैवले जानून्, कानुन रक्षक कि भक्षक ? लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।
असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले श्रीमती हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई जन्मकैदबाट साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष पु¥याइदिएको थियो । यही फैसलाका आधारमा उनी बिहीबार छुटिसकेका छन् ।