फोहोर मात्र होइन, हाम्रो वरपरको विकृत मानसिकता पनि सफा गरौंः मन्त्री मगर

Posted by

काठमाडौं जेठ २२, २०७६ 

भक्तपुर । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले घरभित्रको फोहोर मात्र नभएर टोल र वस्तीमा रहेका विकृतिको समेत सफा गर्नु पर्ने बताएकी छिन् । 

४६ औं विश्व वातावरण दिवसको असरमा भक्तपुरको सूर्यविनायकमा आयोजित उद्यान उद्घाटन तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन् ‘जबसम्म हामीले विकृत मानसिकता सफा गर्न सक्दैनौ तवसम्म हामी सुखी नेपाली र संम्वृद्ध नेपाल अभियानमा साथ दिन सक्दैनौं । ’

अहिले देशमा नदिनाला र गाउँटोल सफाई अभियानले व्यापकता पाइरहको र एक घर एक सफाई अभियन्ता निस्कनु पर्नेमा समेत मन्त्री मगर जोड दिएकी छिन् । 

‘मानिसले प्रकृतिप्रति अन्याय गर्दा हिजो पंखाको आवश्यकता नपर्ने काठमाडौंमा आज एसीको आवश्यकता परेको छ, मन्त्री मगरले भनिन् । 

मानव सृजित फोहोरहरुले प्रकृति र वातावरणलाई असरले गरेको र त्यसको असर पूनः मानवलाई परिरहेको उनको भनाई छ । 

हामी स्वच्छ र स्वस्थ रहन हाम्रो सफाई अभियान निकै महत्वपूर्ण रहेको भन्दै उनले बागमती र हनुमान्ते सफाई अभियानले चेतना फैलाउन सहयोग गरेको बताइन् । 

कार्यक्रममा सांसद महेश बस्नेतले भक्तपुरलाई सुन्दर शान्त र उज्यालो भक्तपुर बनाउने अभियान जारी रहेको बताएका छन् । 

उनले भने ’हामीले हनुमान्ते नदि र अरनिको राजमार्ग सफाई अभियानलाई निरन्तरता दिदैं आएको छौं जुन ६६ औं हप्तामा प्रवेश गरेको छ । ’

कार्यक्रममा प्रदेश सांसद प्रतिमा श्रेष्ठ, जिसस भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टलगायतले कुहिने र नकुहिने फोहरको वर्गीकरण गर्दै घरबाट बाहिर ल्याउन र प्लास्टिकजन्य सामाग्रीको सकेसम्म कम प्रयोग गर्न समेत आग्रह गरेका थिए ।