बटुकदल गणले संचालन गरेको निशुल्क स्वास्थ्य शिविर र प्रकृति संरक्षण सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

Posted by

चितवन पौष ९,,
भरतपुर महानगरपालिका वडा नम्बर २८ मा नेपाली सेनाले दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सरस्वती उच्च मावि जितपुरमा चलाइएको शिविरमा सातसयजनाभन्दा धेरैले सेवा लिएका छन् । भरतपुर महानगरमै पर्ने भए पनि केही ओझेलमा परेको यस स्थानमा कुमाल र थारू जातिको बढी बसोवास छ । स्वास्थ्य केन्द्रसमेत नरहेको यस क्षेत्रका बासिन्दालाई लक्षित गरी चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत नेपाली सेनाको बटुकदल गण र नम्बर ७ फिए गुल्मले एकीकृत जनस्वास्थ्य शिविर चलाएको थियो ।

शिविरमा महानगरपालिकाभित्रका विभिन्न संघ–संस्थाले पनि सहयोग गरेका थिए । बटुक दल गणका निमित्त गणपति सेनानी बलबहादुर गहा मगरले दुई दिनमा चार सय ६५ जना महिला र तीन सय ३० जना पुरुषले निःशुल्क सेवा लिएको जानकारी दिए ।शिविरमा नेपाली सेनाका एक दर्जनभन्दा बढी र जनस्वास्थ्य कार्यालय चितवनका स्वास्थ्यकर्मी परिचालन गरिएका थिए । शिविरमा चार दर्जनभन्दा बढी प्रकारको औषधि निःशुल्क उपलब्ध गराएको थियो । भरतपुर महानगरपालिकाको २८ र २७ वडाबाट आएका बिरामीहरूले शिविरमा क्षयरोग तथा औलोरोगसम्बन्धी परीक्षण, नाक, कान, घाँटी, दाँत, आँखा, छाती, गाइनो, छालासँगै महिलाहरूले पाठेघरको मुखको क्यान्सरको जाँचसमेत गरेका थिए ।

सोअी अवसरमा विद्यार्थीहरुको पठनपाठन तथा खेलकुद क्षेत्रमा बिकास होस भन्ने हेतुले विद्यार्थीहरुको हौसला अभिबृद्धि गर्न सरस्वती उच्च माबिका कक्षा नर्सरीदेखी कक्षा १२ सम्म प्रथम, द्धितीय र तृतिय हुने विद्यार्थीहरु ३९ जनालाई निमित्त गणपति सेनानी बल बहादुर गाहा मगरले कापी कलम बितरण गर्नुको साथै विद्यालयका प्रधानाध्यापकलाई विद्यार्थीहरुको लागी खेलकुद तथा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जभरि करिव ५० स्थानमा खट्टिएको बटुकदल गणले चितवन राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारका घटना हुन नदिन अहोरात्र खट्टिदै आएको छ भने यसको अलावा निकुञ्जको सुरक्षाको लागी मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुसंग हातेमालो गर्दै मध्यवर्ती क्षेत्रका स्थानीयहरुको लागि जनकल्याणका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।
नागरिक र नेपाली सेनाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गमा विरामीलाई सहज किसिमले सेवा दिने उदेश्यले आयोजित निःशुल्क स्वास्थ्य शिविरमा उपचार गर्न आएका अधिकांस बिरामीहरुले राम्रो उपचार सुविधा र निशुल्क औषधि पाएकोमा खुसी ब्यक्त गरेका थिए ।


स्थानीयहरुबाट नेपाली सेनाद्धारा संचालन गरिएको शिविरबाट मेघौलीका अत्यधिक स्थानीय जनताहरुले फायदा उठाएकोमा खुशी व्यक्त गर्दै नेपाली सेनाको यस कार्यको प्रशंसा गर्दै आगामी दिनमा समेत यसप्रकारको शिविर सञ्चालन गरी सर्वसाधारणलाई सेवा प्रदान गर्ने अपेक्षा राखेका थिए । उक्त कार्यक्रमको दौरान बटुकदल गणका कलाकारहरुबाट तयार गरिएको प्रकृति संरक्षण सम्बन्धि सडक नाटक प्रस्तुत गरिएको थियो भने तालिमप्राप्त डगहरुबाट र निकुञ्जमा हाल प्रयोगमा रहेको ड्रोनको ब्यवहारिक एवं प्रयोगात्मक डेमोष्ट्रेसन संचालन गरिएको थियो । साथै प्रकृति संरक्षण सम्बन्धि सचेतनामुलक कक्षा तथा भिडियो डकुमेन्ट्री समेत प्रदर्शन गरिएको थियो ।