बस र ट्याङ्कर जुध्दा १८ जना घाइते

Posted by

  •  आइतबार, २६ जेष्ठ, २०७६

चितवन, जेठ २६ । चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना  घाइते भएका छन् ।

काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको  ना१क ६४११ नम्बरको ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना४ख १४०४७ नम्बरको  बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११ः३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।

घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका  प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये ६ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको छ । अन्यको सोही  पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अहिले दुबै सवारी साधन र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)