बहस नसकिएपछि महरामाथिको मुद्दा हेर्दाहेर्दैमा: भाेलि फेरि थुनछेक बहस हुने

Posted by

  कात्तिक १७, २०७६ आइतबार

काठमाण्डौ – जबरजस्ती करणी उद्योगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दामा सुरु थुनछेक बहस हेर्दा हेर्दैमा राखिएको छ । 

जिल्ला अदालत काठमाण्डौमा आइतबार ११ बजेबाट सुरु भएको बहसमा महराका तर्फबाट अधिवक्ता लभप्रसाद मैनाली र भोजराज आचार्यले बहस गर्नुभएको थियो । 

महराको मुद्दामाथि वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, अधिवक्ताहरु मुरारी सापकोटा, चन्द्र गुरागाईँ लगायत ३५ जनाले वकालतनामा भरेका छन् । 

वकालत गर्नेहरु धेरै भएकाले आइतबार बहस नसकिएपछि सोमबार बिहान ११ बजे फेरि बहस हुनेगरी मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । सोमबार ११ बजे फेरि बहस जारी रहने अदालत स्रोतले जनाएको छ । 

गएको शुक्रबार उहाँलाई न्यायाधीश सुर्दशनराज पाण्डेको बन्द इजलासले बयान लिएको थियो । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाण्डौले गएको बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

थुनछेक बहस सकिएपछि महरा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ ।