बागमतीको बजेट बहुमतले पास, नेकपाले मात्रै गर्यो समर्थन

Posted by


हेटौंडा १९ असार २०७७, शुक्रबार । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो।
मन्त्रीहरुको जवाफ पछि नेकपा बाहेक सबै दलहरुले बजेटमा असहमती जनाएपनि नेकपाको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो । बजेटमा नेपाली कांग्रेस, विवेकशील साझापार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्रले बजेटको विपक्षमा रहेका थिए ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारले अघिल्लो ०७६/०७७ को भन्दा ३ अर्ब ८२ करोड बढी बजेट ल्याएको हो । गत आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । ०७७/०७८ मा प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट विनियोजन गरेको छ ।

सबैको समन्वयमा काम गर्छौ : प्रदेश सरकार
बजेटको छलफलमा उठेको जवाफ दिँदै प्रदेश सरकारले स्बै राजनीतिक दल र सरकार सँग समन्वय गरेर काम गर्ने बताएको छ । जवाफ दिँदै बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै उनले प्रदेश संघीय र स्थानीय तहसंग मिलेर काम गर्ने बताएका हुन्।

उनले प्रदेश सरकारले काम गरिरहेको भन्दै आफ्नो घर अघि काम भएमात्रै काम ठान्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे । उनले २ बर्षभित्र प्रदेशभरीमा १ सय ७९ किमि सडक ढलान तथा कालोपत्रे गर्ने काम भएको, ३३ पुल निर्माण, ८ सय ७ किमि सडक निर्माण र ३ सय २० किलोमिटर सडक ग्राभेल भएको बताए।

उनले कोरोना भाईरसको संक्रमण रोक्न र संक्रमितलाई उपचार गर्न औजार तथा उपकरण खरिद, आईसोलेसन, क्वारेन्टाईन, पिसिआर लगायतका कामका लागि कार्यक्रममा समेटेको छ । ६६ वटै निर्माण क्षेत्रमा स्वास्थ्य उपचारको व्यवस्था गरिएको उनको भनाई छ । उनले कोरोनाका कारण अधुरा योजनाको अवस्था हेरी म्याद थप गर्न संघीय सरकारसंग समन्वय गर्ने बताए।