बाजुरा जिप दुर्घटना : मृतकमध्ये तीनको सनाखत

Posted by

पुस १७, २०७६ डडेल्धुरा :

कर्णाली नदीमा जिप खस्दा ज्यान गुमाएका चार जनामध्ये तीनजनाको सनाखत भएको छ। मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका–५ गोत्रीका जिप मालिक तथा चालक २७ वर्षीय रमेश शाही, हिमाली गाँउपालिका–६ धुलाचौरका ३५ वर्षीय पवन भण्डारी, कैलाली महोन्याल गाँउपालिका ५ का ३३ वर्षीय दिनेशकुमार घर्तीमगर रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। उनका अनुसार मृतक एकजनाको पहिचान हुन सकेको छैन। एक बालिका बेपत्ता  स्वामीकार्तिक गाउँपालिका–४ वाइकी १३ वर्षीया सुशिला विक भने बेपत्ता रहेकी छन्। उनको खोजी कार्य जारी रहेको डिएसपी भाटले बताए।

घाइते चार जनाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते हुनेमा मुगुको कर्मारोड गाँउपालिका–८ का २० वर्षीय गोम्चो लामा, सोही ठाँउका २१ वर्षीय तोर्च लामा, बुढीनन्दा–६ का २२ वर्षीया सरू विक र उनकी २ वर्षीया छोरी रहेकी छन्। प्रहरीका अनुसार तोर्च र सरूको अवस्था गम्भीर छ।

घाइतेलाई उपचारका लागि कोहलपुर लिनका लागि हेलिकेप्टरको कुरा भइरहेको स्वामीकार्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले जानकारी दिए। खराब मौसम भएकाले हेलिकोप्टर उडन नसकेको उनले बताए। से१च १०६४ नम्बरको जिप दिउँसो करिब साढे १ बजे सडकबाट नदीमा खसेको थियो। जिप हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको थियो। प्रहरीका अनुसार ९ जना यात्रु रहेको खुल्न आएको बताएको छ। सडकबाट ५ सय मिटर भिरबाट नदिमा खसेको हो।