बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

Posted by

चितवन, मंसिर ४ –
चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।
बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको उद्धारको लागि प्राविधिक टोली र सुरक्षाकर्मी नेपालबाट खटिएका थिए । टोलीले एउटा पोथी वयस्क गैँडा नियन्त्रणमा लिन सफल भएको हो । नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको गैँडालाई सौराहा नजिकै जनकौली सामुदायिक वनमा छाडिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो ।
यसअघि गैँडा उद्धारका लागि चार हात्तीसहित प्राविधिक टोली र सुरक्षाकर्मी खटिने भए पनि यसपटक ६ वटा हात्ती पठाइएको कँडेलले बताउनुभयो । गैँडाको उद्धारका लागि भारतीय पक्षबाट पनि सुरक्षाकर्मी र कर्मचारी परिचालन भएको उहाँले बताउनुभयो ।
यसअघि भारतीय क्षेत्रबाट नौवटा गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । शनिबार बिहानदेखि खटिएको टोली दिनभरमा गैँडा नियन्त्रणमा लिन नसकेपछि आइतबार फेरि परिचालित भएको थियो ।
नवलपुरको त्रिवेणी क्षेत्रमा झण्डै चार वर्षको बच्चा र माउ बाढीले बगाएर त्यहाँ पुर्‍याएको बताउँदै कँडेलले नेपालकै त्रिवेणी क्षेत्रमा एउटा माउ र एउटा बच्चा गैँडा देखिएको भए पनि झण्डै चार दिनको उद्धार प्रयास असफल भएको बताउनुभयो ।
त्रिवेणी क्षेत्रमा ति गैँडाको सुरक्षाको लागि सुरक्षाकर्मी र निकुञ्ज कर्मचारी परिचालन गरिएको जानकारी दिँदै कँडेलले भारतमा देखिएको गैँडाको उद्धारपछि त्रिवेणीमा रहेका गैँडाको उद्धार गरिने बताउनुभयो ।