बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, प्रधानमन्त्री ओली अनुपस्थित

Posted by

  साउन १३, २०७७ मंगलबार काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएकाे छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित हुनुभएको छ ।

मङ्गलबार बिहान ११ बजे बस्ने भनिएको बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्थगित गर्नुभएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायत व्यक्ति बालुवाटार पुगेर बैठक सुरु गरेका हुन् । अध्यक्ष प्रचण्डको अध्यक्षतामा सुरु बैठकमा नियमित एजेण्डामा छलफल सुरु भएको सहभागी नेताहरुले बताएका छन् । 

यसैबीच नेकपाका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना नजिक रहेको बताउनुभएको छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको केही बेरमा नेता भट्टराईले ट्वीट गर्दै भन्नुभयो, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौँ ।’   

सहमतिको लागि एक महिनासम्म भएको प्रयास पनि सफल नभएपछि नेकपाको विवाद झन् जटिल बन्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यसअघि भएका छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

पछिल्ला केही दिनयता नेताहरुबीच आरोप–प्रत्यारोप बढेको छ । सहमति नभएपछि दुवै पक्ष आ–आफ्नै रणनीतिमा जुटेकाे छ ।