बैकुण्ठ तालमा बेपत्ता भएका पुरुषको शव भेटियो

Posted by

२२ असार, चितवन । बैकुण्ठ तालमा पौडनेक्रममा बेपत्ता भएका भरतपुर महानगरपालिका – ७, बुद्धचोकका युवा अभिनव त्रिपाठीको शव भेटिएको छ । शसस्त्र प्रहरी बल कुरिनटार बेसबाट आएको हरिकृष्ण गीरि नेतृत्वको गोताखोरहरुको समूहले शव निकालेको हो । त्रिपाठीको खोजीका लागि माडीका स्थानीय प्रहरी र स्थानीयबासीबाट सम्भव नभएपश्चात शसस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको थियो । शसस्त्रको कुरिनटार बेसबाट हरिकृष्ण गीरिको नेतृत्वमा खटिएको १० जना गोताखोरको टोलीले त्रिपाठीको शव दिउँसो करीब १२:३० बजे पानीबाहिर निकालेको हो ।

शनिवार बिदा मनाउन तथा बैकुण्ठ तालमा पौडिन आएका त्रिपाठीको शव हिलोमा गडेको अवस्थामा फेला परेको हो । बैकुण्ठ तालको बीचभागमा शव भेटिएको गोताखोर समूहले जनाएको छ । पौडी खेल्ने क्रममा थाकेर वा पौडन नसकेर उनी डुबेको हुनसक्ने अनुमान गरिएको छ । उनको शव पोष्टमार्टम र अन्तिम संस्कारका लागि भरतपुर लगिएको छ ।