भरतपुरमा प्रथम अन्तर्राष्ट्रिय भेट्रान कप फुटबल शुरु

Posted by

चितवन, शनिबार, अशोज ४ –

प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले खेल क्षेत्रको विकास गर्न महानगरपालिका लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरका हरेक वडामा खेल मैदान निर्माण गर्ने प्रक्रियामा हामी रहेका छौँ । यसले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने छ ।” खेल क्षेत्रको विकासले देशको नाम उच्च राख्न मद्दत पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारी, अखिल नेपाल फुटबल सङ्घ चितवनका अध्यक्ष श्रीकृष्ण कार्की, क्लबका सचिव भरतबहादुर सुवेदीलगायतले बोल्नुभएको थियो । भरतपुरको गेष्टहाउस चौरमा शुरु भएको प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई कपसहित रु एक लाख एक हजार १११ र दोस्रो हुनेले कपसहित रु ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने छन् ।