भरतपुर महानगरको सिंचाइ क्षेत्रफल बढ्दै, बोरिङबाट वर्षैभरि सिंचाइ

Posted by

भरतपुर असार २४, बुधबार । भरतपुर महानगरपालिकामा सिंचाइ क्षेत्रफल बढ्दै गइरहेको छ । भरतपुर महानगरले जमिन सिंचाइका लागि बोरिङ खन्ने कामलाई तीव्रता दिएसँगै भरतपुर महानगरमा सिंचाइको क्षेत्रफल बढ्न थालेको छ ।

भरतपुर महानगर कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाका अधिकृत विनोद लामिछानेले अनुदानमा आएको रकमबाट किसानले बोरिङ स्थापना गरेसँगै सिंचाइको क्षेत्रफल बढ्दै गएको बताए । उनका अनुसार भरतपुर महानगरपालिकाको खेतीयोग्य जमिनमध्ये ४० प्रतिशतमा वर्षैभरि सिंचाइ पुगेको छ ।

हाल भरतपुर महानगरपालिकामा १४ हजार ११७ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जसमा ५ हजार ६४६ हेक्टरमा वर्षैभरि सिंचाइ पुग्ने भरतपुर महानगरको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ ।

झन्डै ३० प्रतिशत जमिनमा आंशिक सिंचाइ पुगेको छ भने बाँकी जमिनमा आकासको पानीको भरमा खेती लगाइएको छ । भरतपुर महानगरपालिकामा ४९ प्रतिशत जनसंख्या कृषिमा लागेका अधिकृत लामिछानेले बताए ।

चितवनमा नारायणी लिफ्ट सिंचाइ योजना, रेवाखोला सिंचाइ योजना माडी, ढुङ्ग्रेखोला सिंचाइ योजना भण्डारा, कयर कालिका सिंचाइ योजना कालिकाबाट जमिन सिंचाइ भइरहेको छ । ‘रेवाखोला सिंचाइ योजनाले झन्डै २०० हेक्टरलाई सिंचाइ पु¥याउँछ, यस्तै ढुङ्ग्रेखोला सिंचाइ योजनाले एक सय बढी हेक्टरलाई सिंचाइ पु¥याउँछ । कयर कालिका सिंचाइ योजनाले करिब ३०० हेक्टरलाई सिंचाइ पु¥याउँछ ।

नारायणी लिफ्ट जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटका अनुसार नारायणी लिफ्ट सिंचाइ योजनामार्फत झन्डै ४०० हजार हेक्टरमा सिंचाइ पुग्नेछ । नारायणी लिफ्ट सिंचाइ योजना भरतपुर महानगरको सिंचाइको ठूलो योजना हो ।

नारायणी लिफ्ट सिंचाइ योजनाले पश्चिम चितवनको जमिनमा सिंचाइ पु¥याएको छ । फूलबारी, केशरबाग, तोरीखेत, शिवनगर, लङ्कू, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा नारायणी लिफ्टबाट सिंचाइ हुँदै आएको छ ।

दुई हजार ४०० हेक्टर र सी नहरबाट दुई हजार ३०० हेक्टर क्षेत्रफल सिंचाइ हुने गरे पनि पछिल्लो समय सिंचाइको क्षेत्रफल घटेको अध्यक्ष रानाभाट बताउँछन् । उनका अनुसार सिंचाइको क्षेत्रफल बढे पनि नारायणी लिफ्टबाट हुने सिंचाइ घटेको छ । नारायणी लिफ्टको सिंचाइको सी १ नहर मासिएपछि यसको सिंचाइ घटेको हो ।

नारायणी लिफ्टबाट पानी छाडियो

नारायणी लिफ्ट सिंचाइ प्रणालीको मुख्य स्थलमा पूजाआजा गरी पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिंचाइका लागि मुख्य नहर मानिएको सो लिफ्टको पम्पहाउस एबाट मंगलबार पानी छाडिएको हो ।

नारायणी लिफ्ट सिंचाइ खगेरी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख इ. खेमबहादुर पाठकका अनुसार यस पम्पले प्रतिसेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । पश्चिम चितवनको फूलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लङ्कु, लक्ष्मीपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज, बसेनीलगायतका क्षेत्रमा सिंचाइका लागि लिफ्टबाट पानी वितरण गर्ने गरिन्छ ।

पानी छोडिएपछि अहिले बी र सी नगरबाट पानी पठाइएको छ । बी नहरबाट दुई हजार ४०० हेक्टर र सी नहरबाट दुई हजार ३०० हेक्टर क्षेत्रफल सिंचाइ हुने गरेको छ । नारायणी लिफ्टमा अहिले चारवटा पम्प रहेका छन् । दुईवटा चार क्युमेक र दुईवटा दुई क्युमेकका पम्प रहेका छन् ।

साउन महिनाबाट अर्को ठूलो पम्पसमेत सञ्चालनमा ल्याइने छ । पम्प सञ्चालनमा आएसँगै एक लाख पचास हजार उपभोक्ता लाभान्वित हुने नारायणी लिफ्ट सिंचाइ प्रणालीका अध्यक्ष पूर्णबहादुर रानाभाटले जानकारी दिए । उनका अनुसार कात्तिकको पहिलो सातासम्म पानी छोडिने छ । पानी छोड्नुअघि पम्पमा परम्पराअनुसार पूजाआजसमेत गरिएको थियो । रासस