भरतपुर महानगरलाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा

Posted by

चितवन, कार्तिक ९–

भरतपुर महानगरपालिकालाई आज (शनिबारं) सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगरले प्रभावकारीरूपमा गृहकार्य गरी आज घोषणा गरेको हो ।

महानगर परिसरमा जारी भव्य समारोहमा कार्यक्रमका प्रमुख अतिथि ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरे । घोषणासँगै भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त नेपालको पहिलो महानगर बनेको छ ।औपचारिक कार्यक्रम अहिले जारी छ । औपचारिक कार्यक्रमअघि नारायणगढको क्याम्पाचौरबाट निस्किएको र्‍याली महानगर कार्यालयमा पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरु गरिएको थियो । सो क्रममा बुधबारसम्म २५० जनालाई उद्धार गरिएको जानकारी दिइएको थियो ।

उनीहरुमध्ये जम्मा आठ जना मात्रै वास्तविक अभिभावकविहीन रहेको पाइएको मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। अन्य मादक पदार्थ सेवन गरेर बस्ने, थोरै रकममा श्रम गर्ने, रोजगारीका लागि सदरमुकाम आएका, फिरन्ते र मगन्ते रहने गरेका छन् । २०७१ सालदेखि चितवनको सडकमा सहयोगापेक्षी सडकमानव मुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ । उनीहरुमध्ये ३०० जनालाई पुनःमिलन गराएको छ भने अहिले एक सय जना आश्रममा आश्रित रहेका छन् । आश्रमको क्षमता भने ५५ जनाको रहेको छ ।

महानगरप्रमुख रेनु दाहालले महानगरको क्षेत्र ठूलो भएकाले शहरदेखि गाउँसम्म यो अभियान सञ्चालन गरिएको बताइन्। मानव सेवा आश्रमको सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घ संस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाइएको हो ।