भरतपुर २२ र ११ नम्बर वडाले भन्योः समुदायमा कोरोना देखिएकोले घरबाहिर ननिस्कनु

Posted by

चितवन, असार १८, २०७७ बिहिबार –

भरतपुर महानगरपालिका वडा नं.२२ र वडा नं.११ का एक/एक जनामा बुधबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि दुवै वडा कार्यालयले सतर्कता अपनाएको छ । दुवै वडा कार्यालयले बुधबार एक सूचना जारी गर्दै वडाबासीहरुलाई अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।

भरतपुर–२२ का वडाध्यक्ष विष्णुराज महतोद्धारा जारी विज्ञप्तीमा कोरोना भाइरस पटिहानीमा समुदायस्तरमै फैलिएकोले सतर्क रहन वडाबासीहरुलाई आग्रह गरिएको छ । वडाबासीहरुलाई सामाजिक, भौतिक दुरी कायम गरी कोरोनाबाट बचौं र बचाऊ भन्दै सबै अतिआवश्यक काम बाहेक घर भन्दा बाहिर ननिस्कन आग्रह गरिएको छ ।

यस्तै भरतपुर–११ का वडाध्यक्ष बाबुराम अधिकारीद्धारा बुधबार जारी विज्ञप्तीमा पनि अतिआवश्यक काम बाहेक बाहिर नजान सबै वडाबासीमा आग्रह गरिएको छ । यस वडाले पूर्व गाइखर्क चोक, पश्चिम अमन चोक, उत्तर समीको चौतारा नहर, दक्षिण प्रगति चोक चार किल्ला क्षेत्रभित्र सैलुन, व्यूटीपार्लर, होटल र सहकारी संस्था नखोल्न आग्रह समेत गरेको छ ।