भरतपुर २५ का बोटे समुदायलाई १० घर हस्तान्तरण

Posted by

चितवन, सोमवार, असार २९-
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार भरतपुर वडा नम्बर २५ मा बोटे समुदायलाई १० वटा घर हस्तान्तरण गरेकी छन् ।

महानगर प्रमुख दाहालले जनता आवास कार्यक्रमअन्तर्गत संघीय सरकार र भरतपुर महानगरपालिकाको ६१ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको घर त्यहाँका बोटे समुदायका हस्तान्तरण गरिन् । सिमान्तकृत बोटे समुदायलाई घर हस्तान्तरण गर्दै प्रमुख दाहालले घर नभएकाहरुलाई महानगरपालिकाले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण गर्दै जाने बताइन् । जनता आवासको कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने प्रमुख दाहालको भनाइ छ ।

महानगरपालिकाले संघीय सरकारसँग सहकार्य गर्दै महानगर क्षेत्रभित्रबाट खरको छानो हटाउने अभियान समेत सञ्चालन गरिरहेको उनले बताइन् । नगर प्रमुख दाहालले खरको छानो हटाएर सो घरमा जस्ताको छाना लगाउने काम भइरहेको समेत जानकारी दिइन् । प्रमुख दाहालले वडा नम्बर १३ उज्ज्वलनगरमा १० घर दराई परिवारको घर समेत निर्माण भइरहेको बताउँदै आगामी आर्थिक वर्षमा संघीय सरकारसँगको सहकार्यमा महानगरको अन्य वडाहरुमा ४०० बढी जनता आवास निर्माण गर्नेगरी काम अगाडि बढिरहेको बताइन् ।