भारतले बाँध नखोल्दा रौतहट जलमग्न, सीमामा एसएसबी तैनाथ

Posted by

शनिबार, २८ आषाढ, २०७६ राैतहट। भारतले बाँध नखोल्दा रौतहट जलमग्न भएको छ । भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर सीमा क्षेत्रमा बनाएको बाँधका कारण जिल्लाको अधिकांश भू–भाग डुबानमा परेको हो ।

सदरमुकाम गौरमा ८ फिटसम्म पानी जमेको छ । अधिकांश घरको भुई तला डुबेका छ । बाँधको कारण जिल्लाका सबै स्थानीय तह डुबानमा परेका छन्  ।

स्थानीय बासिन्दा जिउ जोगाउन घरको छतमा बसेका छन् । बाँध स्थल नजिकको बस्तीमा १५ फिटसम्मको पानी जमेको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले भारतीय काउण्टर पार्ट (समकक्षी) लाई बाँध खोल्न आग्रह गरेको तर सुनुवाई नभएको जानकारी दिनुभएको छ ।

‘हामीले बाँध खोलिदिन पटक–पटक आग्रह गर्याैं  तर भारतीय पक्षबाट सुनुवाई भएन’ उहाँले भन्नुभयो, ‘हामीले बाँध खोल्न आग्रह गरेपछि झन् बाँधको सुरक्षार्थ भारतीय सीमा सुरक्षा बल (एसएसबी)का टुकडीलाई बाँधमाथि तैनाथ गरिएको छ ।’

बाँध नखोलिए पूर्वपश्चिम राजमार्गसम्म डुबानमा पर्ने स्थिति छ । जिल्लाको दक्षिणवर्ती गाउँमा डुबानको खतरा रहेको स्थानीयले बताएका छन् ।

भारतले २०७४ सालमा निर्माण गरेको बिहारको सितामढी जिल्ला अन्तर्गत पर्ने बरगनिया बाँध, फुलबरगिया बाँध, ढोका बाँध र रिगा बागमतिको बाँध नखोलिदिँदा नेपाली भूमि डुबानमा परेको हो ।

बाँध खोल्न पटक–पटक आग्रह गरेपनि भारतीय पक्षले बिचबिचमा रहेको साइफन समेत नखोलिदिँदा सबै स्थानीय निकाय डुबानमा परेका हुन् ।