भीम अस्पतालमा भर्ना भएका २ जनाकै रिपोर्ट ‘नेगेटिभ’

Posted by

१२ चैत, बुटवल । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा भीम अस्पताल भैरहवाको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना बिरामीको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

शनिबार भर्ना भएका रुपन्देहीका तिलोत्तमा मणिग्रामका १० वर्षीय बालक र प्युठानका २० वर्षीय युवा दुवैजनाको रिपोर्ट ‘नेगेटिभ’ आएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए ।

दुवैजनाको स्वाब परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । ‘मणिग्रामका बालकमा टन्सिल देखियो, प्युठानका युवामा ज्वरो र रुघा मात्रै रहेछ,’ उपाध्यायले अनलाइनखबरसँग भने, ‘एकजना डिस्जार्ज भइसक्नुभयो, एकजनालाई बुधबार डिस्जार्ज गर्छौं ।’

भीम अस्पतालमा अबदेखि कोरोना संक्रमण पुष्टि भएका बिरामीको मात्रै उपचार गरिने र मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको उपचार बुटवल धागो कारखानामा बनेको आइसोलेसन अस्पतालमा हुने उनले जानकारी दिए ।

अस्पतालमा हालसम्म दुईजना मात्रै कोभिड-१९ संक्रमणको आशंकामा उपचारका लागि भर्ना भएका उनले बताए ।

अस्पतालमा ३० बेडको कोरोना उपचार केन्द्र बनिरहेको र तीन दिनभित्र तयार हुने पनि सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।