मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश दुंगाना

Posted by

अपिल घिमिरे ,चितवन साउन १४,

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित हुनुभएको छ । आज निकुञ्जको मुख्य कार्यालय रहेको कसरामा भएको निर्वाचन मार्फत उहाँ पाँच बर्षै कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो । उहाँ नेकपा चितवनका सचिवालय सदस्य समेत हुनुहुन्छ ।

व्यवस्थापन समिति अन्तर्गत चितवन,नवलपरासी,मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति छन् । ति समितिका सबै अध्यक्ष सोतह पदेन सदस्य हुने व्यवस्था छ । २२ उपभोक्ता समितिका अध्यक्षले मतदान गरेर व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था छ । ढुङ्गाना भरण्डारभार उपभोक्ता समितिबाट प्रतिनिधि बनेका थिए ।

मध्यवर्ती समितिले वर्षमा १२ करोड रुपैयाँ हाराहारीको बजेट परिचालन गर्छ । निकुञ्ज, आरक्ष वा संरक्षित क्षेत्रसँग सिमाना जोडिएको भूभाग मध्यवर्ती क्षेत्र हो । मध्यवर्ती क्षेत्रमा वसोवास गर्ने वासिन्दालाई संरक्षणप्रति उत्तरदाई र सक्रिय बनाउनका लागि निकुञ्जबाट हुने आम्दानी लाइ सोहि स्थानमा लगानी गर्ने गरिन्छ। चितवनमा २०५४ सालमा मध्यवर्ती क्षेत्रका समितिहरू बन्न सुरु भएका हुन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र ४२४२ वर्ग किलोमिटरमा फैलिएको छ। मकवानपुरको मनहरी गाउँपालिकाको एउटा वडा, पर्साको ठोरी गाउँपालिकाको १, २ र ३ नम्बर वडाहरू , चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिकाका केही वडाहरू मध्यवर्तीमा पर्दछन। ।त्यसैगरी भरतपुर महानगरपालिकाका ६, ८, ९, १३, १४, १७, १८, २२, २३, २४, २५, २६, २७ र २८ नम्बर वडा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । माडी नगरपालका पुरै मध्यवर्ती क्षेत्रमा छ । त्यसैगरी नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाका वडाहरू पनि मध्यवर्तीमा पर्छन् । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं मध्यवर्ती क्षेत्र विभागका लोकेन्द्र अधिकारीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र मा ४५ हजार ६ सय १६ घरधुरी छन् । त्यसैगरी १ हजार ७ सय ८४ समूह यसमा आवद्ध छन ।