मन्त्रिमण्डल छिट्टै पुनर्गठन हुन्छ : नेता पौडेल

Posted by

असार १०, २०७६ मंगलबार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने बताउनुभएको छ ।

मंगलबार एक कार्यक्रममा नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्री फेर्न सक्ने बताउनुभएको हो ।

नेता पौडेलले पार्टी एकता गर्दानै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार  आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, ‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होइन । त्यसैले विगतमा भएका सहमति इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’

उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको जिकिर गर्नुभयो ।

यद्धपी संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले स्पष्ट पारे ।