मलामी बोकेको जिप गुल्मीमा दुर्घटना, १ को मृत्यु, ६ गम्भीर

Posted by

३० कात्तिक, ।
गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।मलामी लिएर सदरमुकाम तम्घास फर्किंदै गरेको लु १ ज १५२१ नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित अर्खलेमा दुर्घटना भएको हो ।दुर्घटनामा कपिलवस्तुको बाडगंगा नगरपालिका स्थायी ठेगाना भएको रुद्रबहादुर डेगा (५५) को ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिए ।दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी धुर्कोट गाउँपालिका आत्माराम राना, रेसुङ्गा नगरपालिका–४ का देवराज पाण्डेय, डिलबहादुर दर्लामी, सन्तोष पाण्डेय, ध्रुव मरासिनी, मोहनविक्रम थापा गम्भीर घाइते भएका छन् । उनीहरुको पाल्पा असपतालमा उपचार भइरहेको छ ।
घाइते अन्य ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि गम्भीर घाइते छन् ।मंगलवार डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय रामबहादुर दर्लामीको शव सदगत गरेर फर्किने क्रममा बुधवार राति दुर्घटना भएको थियो ।दर्लामीको शव डोजर धनी र उनका आफन्तबीच सहमति नजुट्दा एक दिन ढिला गरी उठेको थियो । प्रहरीका अनुसार दुर्घटनामा पुनः दर्लामीकै आफन्तको ज्यान गएको छ ।