मलेसिया ४५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट

Posted by

२८ कात्तिक,
एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा मलेसियाले नेपालसामू ४६ रनको विजयलक्ष्य पेश गरेको छ ।
वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा नेपाली बलरहरुको प्रदर्शन शानदार रहँदा मलेसिया १५.३ ओभरमा ४५ रनमा समेटियो ।नेपालले केहिबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।बायुमास ओभलमा घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २/२ तथा अनिलकुमार साहले १ विकेट लिए ।
सुरुवातदेखि नै आक्रामक बलिङ गरेको नेपालले मलेसियाका कुनै पनि ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएन । ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक मलेसियाका अन्य ब्याट्सम्यानले धारिलो बलिङको सामना गर्नै सकेनन् ।छैटौं ओभरको चौथो बलमा जगजीतलाई अनिल साहले जितेन्द्र सिंहको हातबाट क्याचआउट गराएपछि सुरु भएको मलेसियाको विकेट पतन त्यसयता निरन्तर रहृयो ।५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ । समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।