महरा अदालतद्वारा निर्दोष ठहर,डिल्लीबजारमा महरालाई स्वागत गर्नेहरुको भिड

Posted by

फागुन ५, २०७६ काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । 

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई सोमबार जिल्ला अदालत काठमाडौँले सफाइ दिएको हो । 

जिल्ला  अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले अभियोग दाबी नपुग्ने भन्दै उनलाई निर्दोष ठहर हो ।

अदालतमा उनीबारे आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो । 

महरा बा २ झ ३९७८ नम्बरको गाडीमा चढेर अदालत पुगेका हुन् । महरा हात हल्लाउँदै र मुस्कुराउँदै इजलास कक्षतर्फ गएका थिए । 

महराले सोही प्रकरणमा मुछिएपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए भने १९ गते पक्राउ परेका थिए । 

जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएसँगै पूर्वसभामुख कृष्णबहादुर महराले सांसदको सेवा सुविधा फुकुवा हुने भएको छ ।

थुनामा पठाएको १ सय ३ दिनपछि जबरजस्ती करणी उद्योगको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सोमबार सफाइ पाएका छन् । आज महरा डिल्लीबजार कारागारबाट जिल्ला अदालत पुगेका थिए ।

महरा अदालतबाट बाहिरिँदा ताली बजाउनेहरु धेरै थिए । जिल्ला अदालतबाट उनी सिधै डिल्लीबजार स्थित सदरखोर लागे । १ सय ३ दिनको कारागार बसाई आज टुङ्गोमा पुगेको छ । कानुनी प्रकृया पूरा गरेपछि महरा आज नै कारागारमुक्त हुनेछन् ।

डिल्लीबजार कारागार बाहिर पनि शुभचिन्तक उपस्थित छन् । हातमा माला लिएर उनलाई स्वागत गर्नेहरुको भिड नै छ ।

अदालतबाट सफाइ पाएसँगै अब महराले सांसदका रुपमा पुन: संसदमा प्रवेश गर्न पाउनेछन् ।